काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘नेपालमा नेताको लुट र भ्रष्टाचार मात्रै सुरक्षित’ भएको र व्यक्तिको सुरक्षा नभएको टिप्पणी गरेका छन् । आम जनताको सुरक्षा दिन नसकेको सरकारले कैदी बन्दीको ज्यानको सुरक्षा गर्न असफल भएको उनले बताए ।
प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले कारागारमा कैदीबन्दीको हत्याको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्दै यसबारेमा गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेका छन् ।
वीरगञ्ज कारागारका कैदी राहुल साह र कैलाली कारागारका कैदी भरत चौधरीको हत्याको जिम्मा कसले लिने भन्दै उनले सरकारले यसबारेमा जवाफ दिनुपर्ने माग गरे । उपचार नपाएर साहको र झडपमा परेर चौधरीको मृत्यु भएपछि आजपा अध्यक्ष साहले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
‘यो हत्याको जिम्मेवारी कसले लिने सभामुख महोदय । कैदीबन्दीको हत्या हुन्छ, त्यसको जवाफ कसले दिने ? के त्यहाँको कैदीबन्दी दोषी हो कि सरकारको बेथिति दोषी हो ? सरकारको प्रशासन दोषी हो कि सरकार दोषी हो ? कि कैदीबन्दी दोषी हो भन्ने गम्भिर प्रश्न उठछ । गम्भिर प्रश्न उजागर भएको छ,’ साहले भने, ‘सरकारका सम्बन्धित मन्त्री यसको जवाफदेही होस् । यसको जिम्मेवारी लिनुस् । किनकी अग्रिम सूचना हुँदाहुँदै कैलाली कारागारमा झडप हुन्छ । सरकारको सुरक्षा निकाय फेल हुन्छ । कैदीबन्दीले ४८ घण्टा कारागार आफ्नो नियन्त्रणमा लिन्छन् । यो घटना क्रमले धेरै कुरा उजागर गरेको छ ।’
आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति, सुरक्षा र अमनचयन नभएको अवस्थामा कारागार पनि असुरक्षित बनेको टिप्पणी गरेका छन् । कारागार पनि असुरक्षित हुन थालेपछि देशको शान्ति, सुरक्षाको अवस्था के हुने हो भनेर उनले प्रश्न गरेका छन् ।
‘देशमा शान्ति, सुरक्षा, अमनचयन त भएन भएन, अब त कारागार पनि असुरक्षित हुन थाल्यो । सरकारको कष्टडीमा पनि व्यक्ति सुरक्षित नहुने भन्ने भयो । अहिले यसरी हेर्दा यो देशमा एउटामात्रै सुरक्षित देखियो, त्यो भनेको नेताहरुको लुट र भ्रष्टाचार,’ साहले भने ।
कारागारमा भएको कैदबन्दीको निधनमा सरकारको बेथिति दोषी रहेको साहको आरोप छ । कैलाली कारागारको अवस्थाबारे सरकारलाई अग्रिम जानकारी भएको भए पनि घट्ना घट्नु दुःखद् भएको उनको टिप्पणी छ । कारागार नै कैदीबन्दीहरूले ४८ घण्टासम्म नियन्त्रण लिएको घट्नाले नेपालको सुरक्षा संयन्त्र असफल भएको पुष्टि भैसकेको साहको दाबी छ ।
त्यहाँ भएको आर्थिक अनियमितता, लेनदेनका कुरादेखि लिएर लागुऔषध ओसारपसार, हातहतियारको विषयहरू उजागर भएको उनले बताए । शान्ति, सुरक्षा दिन सरकार असफल भएको टिप्पणी गर्दै उनले अब नाइके, चौकीदारको पनि सरकारले भागबण्डा गर्न कटाक्ष गरे । लुट, भ्रष्टाचारको पनि सरकारले भागबण्डा गरोस की अब झडप नहोस, मान्छे मार्ने अवस्था नहोस भन्दै सरकारको आलोचना गरे ।