काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उनीहरूविरुद्ध २४ लाख ५० हजार बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउन उनीहरूले २४ लाख ५० हजार घुस मागेको सूचना एवं उजुरी आयोगमा परेको थियो ।
उक्त सूचना एवं उजुरीपछि अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले कार्यालयप्रमुख आचार्य र कार्यालय सहयोगि टिकाराम राउतको साथबाट मोबाइल डिभाइस र घुस/रिसबत २४ लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो ।
अख्तियारका प्रवक्ता पौडेलका अनुसार उनीहरूलाई अख्तियारको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर परिसरबाट नियन्त्रणमा लिएको थियो ।
अख्तियारले गरेको अनुसन्धानबाट कार्यालय प्रमुख आचार्य र कार्यालय सहयोगी राउतले प्रमाण पुर्जा बनाइदिन २४ लाख ५० हजार घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
सोही प्रकरणमा उनीहरूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता पौडेलले जनाएका छन् । '... बिगो रु. २४,५०,०००|- (चौबीस लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ,' आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
