काठमाडौं । पर्यटन विभागका निर्देश सचिन्द्र कुमार यादवविरुद्ध ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसाको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई विपक्षी बनाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डप, काठमाण्डौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादव उपर बिगो ९६,८५,५५३।१९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो ।
प्रवक्ता पौडेलका अनुसार यादवले गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी आयोगमा परेको थियो । त्यसपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
अख्तियारले गरेको अनुसन्धानमा यादव र उनका एकाघरका परिवारले हालसम्म २ करोड ६८ लाख १८ हजार ९०० रुपैया ७२ आर्जन गरेको स्रोत देखिएको अख्तियारले जनाएको छ । तर सोही अवधिमा यादवले ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा लगानी तथा खर्च गरेको देखिएको प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यही विषयमा अनुसन्धान गर्दा उनले ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत देखाउन नसकेकोले उनीविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
'… निजको जाँच अवधिमा रू.९६,८५,५५३।१९ बराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि नभएको हुँदा निजले आर्जन गरेको सम्पूर्ण सम्पत्ति वैधानिक रुपमा आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले…' अख्तियारले जानकारी दिएको छ ।
अख्तियारले उनीविरुद्ध ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बिगो कायम गरी बिगो बमोजिम कैद तथा जरिवाना एवं कैद सजायको माग गरी अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाइएको छ ।
'साथै, निज सचिन्द्र कुमार यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको हुँदा उक्त सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतका प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज आशा कुमारी यादवलाई प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,' प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।