काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका व्यवसायी पति राज कुन्द्रामाथि फेरि एकपटक कानुनी उल्झन आइलागेको छ ।
६० करोड रुपैयाँको ठगी मुद्दामा मुम्बई पुलिसको इकोनोमिक अफेन्स विङ्ग (EOW) ले दम्पतीविरुद्ध मुद्दा दर्ता गरेको छ । राज कुन्द्राविरुद्ध यो पहिलो ठगीको मुद्दा होइन । उनलाई डिसेम्बर २०२४ मा ईडीले अश्लील चलचित्रहरूको कथित गैरकानूनी वितरणसँग सम्बन्धित मनी लाउन्ड्रिङको मुद्दामा सोधपुछका लागि बोलाएको थियो ।
मुम्बईको लोटस क्यापिटल फाइनान्सियल सर्भिसेज लिमिटेडका निर्देशक तथा व्यवसायी दीपक कोठारीले सेलिब्रिटी जोडीविरुद्ध आर्थिक ठगीको मुद्दा दर्ता गराएका हुन् । कोठारीको आरोप छ- राज कुन्द्रा र शिल्पा शेट्टीले आफ्नो व्यवसाय बढाउनको लागि यो रकम ऋणको रूपमा लिएका थिए, तर उनीहरूले त्यो पैसा व्यक्तिगत खर्चका लागि प्रयोग गरे ।
एफआईआरमा उजुरीकर्ताले गरेको दाबीअनुसार शिल्पा र राज कुन्द्राले २०१५ मा आफ्नो कम्पनी बेस्ट डील टिभी प्राइभेट लिमिटेडका लागि ७५ करोड रुपैयाँ ऋण लिन एक मध्यस्तकर्तामार्फत उनीसँग सम्पर्क गरेका थिए । त्यस समय शेट्टी र कुन्द्रा त्यस कम्पनीका निर्देशक थिए, जुन लाइफस्टाइल उत्पादनको प्रचारमा विशेषज्ञ थियो र अनलाइन किनमेल प्लेटफर्म चलाउँथ्यो । यो रकममा वार्षिक १२ प्रतिशत ब्याज पनि दिने वाचा गरिएको दाबी एफआईआरमा गरिएको भारतीय मिडियाहरूले जनाएका छन् ।
यता, शिल्पा र राजका वकिल प्रशान्त पाटिलले भने आरोपको खण्डन गरेका छन् । शिल्पा र राजमाथि गलत आरोप लगाएर छवि खराब गर्ने प्रयास भइरहेको उनको प्रतिक्रिया छ ।
पाटिलले भनेका छन्, 'मेरा पक्षहरूविरुद्ध आर्थिक अपराध शाखा, मुम्बईमा एक कथित मुद्दा दर्ता छ । सुरुमा मेरा पक्षहरूले आफ्ना विरुद्ध लागेका सबै आरोपहरूलाई अस्वीकार गर्छन्,' पाटिलले भनेका छन् ।'