धनकुटा । आम जनता पार्टी (आजपा) का सहअध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगरले सरकारको मनोमानी कर आतंकले मुलुकको आर्थिक अवस्था धरासायी बनेको टिप्पणी गरेका छन् ।
धनकुटाको पाख्रीबास नगरपालिकामा शनिबार भएको पार्टीको जिल्ला भेललालाई सम्बोधन गर्दै थापाले सरकारपिच्छेको मनोमानी कर आतंकले उधोग, व्यापार व्यवसाय अगाडि बढ्न नसकेको बताए ।
‘अहिले तीन तहको सरकार छ । ६६१ वटा सरकारको आफ्नै कर नीति छ । सरकारपिच्छेको सरकार र मनोमानी करले उधोग, व्यापार, व्यवसाय धरासायी बन्दै गइरहेको छ । मुलुकको आर्थिक अवस्था धरासायी हुनुको मुख्य कारण सरकारको मनोमानी कर आतंक नै हो,’ थापाले भने, ‘यसका विरुद्धमा आजपाले निरन्तर आवाज उठाउँदै आएको छ । सरकारको मनोमानी कर आतंकविरुद्ध एकजुट भएर आन्दोलनमा जानुको विकल्प अब हामीसँग छैन ।’
ठूला भ्रष्टाचारको फाइल खोलेर अनुसन्धान गरी भ्रष्टहरूलाई कारबाही गर्न सरकार डराएको उनको भनाइ छ । दुई तिहाईको भनिए पनि सर्वसधारण, श्रमजीवी वर्गको पक्षमा सरकारले काम गर्न नसकेको उनको भनाइ छ । विचौलियाको पक्षपोषणमा सरकार लागिपरेको उनको भनाइ छ ।
पाख्रीबासमा भएको जिल्ला भेलाले आजपाको धनकुटा जिल्ला कमिटी गठन गरेको छ । ५१ सदस्यीय जिल्ला कमिटीको इन्चार्जमा प्रेमबहादुर थापा तथा अध्यक्षमा पुष्पा पाण्डे चयन भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा हिरा थापा, भुपाल कार्की, कृष्ण थापा र सचिवमा लक्ष्मी बस्नेत (थापा) रहेका छन् । यसैगरी सदस्यहरूमा नागेन्द्र तामाङ, टिकामाया थापा, चेतबहादुर भट्टराई, दिपा घिमिरे, नारायण कार्की, अनिता भट्टराई लगायतका रहेको इन्चार्ज प्रेमबहादुर पाण्डेले जनाएका छन् ।