काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय ७२ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएको जानकारी दिएको छ ।
नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार हालसम्म नेपालमा कुल ६७ हजार ८ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गरी पछिल्लो २२४ घण्टामा १ हजार ८ सय ९३ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । यससँगै नेपालमा हालसम्म ४९ हजार ९ सय ५४ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
हालसम्म कोरोना भाइरसको संक्रमण देखिएकाहरुको संख्या ६७ हजार ८ सय ४ रहे पनि नेपालमा सक्रिय संक्रमितहरुको संख्या भने १७ हजार ४ सय १४ मात्र रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । बुधबार मृत्यु भएकाहरुमा १ जना महिला र ६ जना पुरुष छन् । यससँगै नेपालमा हालसम्म ४ सय ३६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका अनुसार हाल ९ हजार १ सय ८६ जना होम आइसोलेसनमा छन् भने ८ हजार २ सय २८ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७ हजार १ सय ४ जना क्वारिन्टिनमा रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हाल मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी संक्रमितहरु छन् ।
त्यस्तै गरी सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा हाल कोरोना भाइरसका संक्रमितहरु नरहेको डा. गौतमले जानकारी दिए ।
उपत्यकामा थपिए ६३७
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ६ सय ३७ जना नयाँ संक्रमितहरु फेला परेका छन् ।
काठमाडौंमा ४ सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० गरी काठमाडौं उपत्यकामा कुल ६ सय ३७ जना नयाँ संक्रमितहरु थपिएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।