काठमाडौं । असोज मध्य भइसक्दा पनि वर्षा रोकिने छाँटकाँट देखिएको छैन । अहिले पनि तपाईं वरपर पानी परिरहेको हुनसक्छ । बाढी पूर्व सूचनाले पनि कतिपय नदीहरुले सुरक्षाको स्तर पार गरेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यी विविध कारणले सबैको मनमा एउटा प्रश्न उब्जने गरेको छ- असोज लागिसक्यो वर्षा रोकिएको छैन आखिर कहिलेसम्म भइरहन्छ वर्षा ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मौसम बहिर्गमनको औषत मिति सेप्टेम्बर २३ हो । सेप्टेम्बर २३ यसवर्ष हिजो (बुधबार) परेको थियो । तर, सेप्टेम्बर २३ मा मनसुन बहिर्गमन भएन । महाशाखा नै भन्छ, 'यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै रहेको छ ।'
आजसम्मको विश्लेषण अनुसार, हाल भारतको मध्य प्रदेशमा रहेको न्यूनचापीय क्षेत्र पश्चिम(उत्तर(पश्चिम तर्फ सर्ने क्रममा २५ सेप्टेम्बर (शुक्रबार) सम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन र चट्टयाङ्ग तथा हावाहुरी सहितको वर्षा तथा केही स्थानमा भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने पनि महाशाखाले जनाएको छ । साथै मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने पनि जनाएको छ ।
खतरा
वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको र यो उत्तरपूर्व सरीरहेको जनाएको छ ।
हाल देशभर वर्षा भइरहेकाे जानकारी दिँदै महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षा भइरहेकाे जनाएकाे छ ।
त्यस्तै आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन पनि भनेकाे छ ।