काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ । ब्राजिकलो सर्वोच्च अदालतले उनलाई सत्तामा कायम रहन कुको प्रयास गरेको अभियोगमा दोषी ठहर गरेको हो ।
उनीमाथि सन् २०२२ मा चुनावमा पराजय व्यहोरेपछि पनि सत्तामा कायम रहनका लागि सत्ता उल्ट्याउने षड्यन्त्र गरेको अभियोग थियो । उक्त अभियोगमा अदालतले उनलाई दोषी प्रमाणित गर्दै २७ वर्ष तीन महिनाको जेल सजाय सुनाएको हो ।
अदालतका पाँच न्यायाधीशमध्ये चार जना न्यायाधीशले बोल्सोनारोमाथि लगाइएका पाँच अभियोगमा दोषी ठहर गरेका हुन् ।
ती न्यायाधीशले बोल्सोनारोमाथि लगाइएका आपराधिक संगठनमा सामेल भएको, लोकतन्त्रविरोधि कार्य गरेको, लोकतन्त्र फल्न खोजेको, सत्ता उल्ट्याउने प्रयास गरेको तथा सरकारी सम्पत्ति र धरोहरमा क्षति पुर्याएको अभियोगमा दोषी ठहर गरेका हुन् ।
पाँचमध्ये एक जना न्यायाधीशले भने उनी निर्दोष रहेको मत दिएका थिए । ब्राजिलको इतिहासमा कुनै पनि पूर्वराष्ट्रपतिमाथि लोकतन्त्रमाथि आक्रमण गरेको अभियोगमा दोषी प्रमाणित गरिएको यो पहिलो पटक हो ।
उता यसबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया दिएका छन् । उनले ब्राजिलको सर्वोच्च अदालतले गरेको फैसलाप्रति आश्चर्य व्यक्त गरेका छन् । ट्रम्पले यसलाई राजनीतिक प्रतिशोधका रूपमा अर्थ्याएका छन् ।
अमेरिकाको तीखो प्रतिक्रियाका बीच बोल्सोनारकोका छोरा तथा ब्राजिलका सांसद एडुआर्डो बोल्सोनारोले यसलाई तानाशाहीको सुरुवातका रूपमा टिप्पणी गरेका छन् ।