काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरस संक्रमितहरुको मृत्यु भएको छ । यससंँगै हालसम्म ४ सय ५३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ९७ जना नयाँ संक्रमित थपिएको पनि डा. गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ९ सय ८४ जना पुरुष छन् भने ५ सय १३ जना महिला छन् ।
यससँगै नेपालमा हालसम्म ६९ हजार ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४ सय ५७ जनाले कोरोना भाइरस जितेर निको भएका छन् । यो समेत नेपालमा हालसम्म ५० हजार ४ सय ११ जनाले कोरोना जितेको मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।
डा. गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ । यससँगै पिसिआर परीक्षण हुनेहरुको संख्या ९ लाख ५५ हजार ९ सय २३ पुगेको डा. गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी संक्रमितहरु रहेका छन् ।
त्यसैगरी सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा हाल कोरोना भाइरस संक्रमितहरु नरहेको मन्त्रालयले जनाएको छ ।
हाल होम आइसोलेसनमा ९ हजार ८ सय २३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना छन् । त्यसै गरी ६ हजार ५ सय ६५ जना क्वारिन्टिनमा रहेको पनि मन्त्रालयले जनाउको छ ।
उपत्यकामा थपिए ७५५ संक्रमित
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५५ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन् ।
काठमाडौंमा ६ सय ९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ गरी उपत्यकामा ७ सय ५५ जना नयाँ संक्रमितहरु थपिएको मन्त्रालयले जनाएको छ ।