काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक पत्रकारले उनको सम्पत्तिबारे प्रश्न गरेका छन् । पत्रकारले यस्तो प्रश्न गरेपछि ट्रम्पले असन्तुष्टि जनाएका छन् ।
ट्रम्पलाई एक अस्ट्रेलियन पत्रकारले उनको व्यापारिक सम्झौताको विषयमा प्रश्न गरेका थिए । जवाफमा ट्रम्पले ती पत्रकारलाई यसले अस्ट्रेलियालाई घाटा हुने भन्दै सचेत गराएका थिए ।
अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) का जोन लायन्सले ट्रम्पलाई उनले जनवरीमा राष्ट्रपतिको कार्यकाल सुरु गरेयता कति धनी भए भनेर प्रश्न गरेका थिए ।
जवाफमा ट्रम्पले भनेका थिए- मलाई थाहा छैन ।
ट्रम्पले उनको परिवारले व्यापारिक कारोबार सम्हाल्ने गरेको बताए । 'मेरो नजरमा तपाईं अस्ट्रेलियालाई अझै क्षति पुर्याइरहनुभएको छ । र उनीहरू मसँग राम्रो सम्बन्ध चाहन्छन्,' ट्रम्पले भनेका छन् ।
ट्रम्पले त्यसक्रममा आफूले छिटै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानीजसँग भेटवार्ता गर्ने पनि बताए । अनि ट्रम्पले अगाडि भने- 'म उनलाई तपाईंको बारेमा भन्नेछु । तपाईंले महोललाई एकदमै विगार्नुभएको छ ।'
त्यसपछि लायन्सले अर्को प्रश्न पनि गर्ने प्रयास गरेका थिए । तर, ट्रम्पले आफ्नो औँला आफ्नो मुखमा राखेर चुप लाग्ने संकेत गरेका थिए ।
ट्रम्पले यस्तो प्रतिक्रिया दिएपछि लायन्सले भने विनम्रताका साथ प्रश्न गर्दा दुई देशको सम्बन्धमा क्षति पुग्छ भन्नु घटिया सोच भएको टिप्पणि गरे । उनले आफ्नो प्रश्न न्यायसंगत, शोधमा आधारित रहेको र कुनै पनि अपमानजनक नरहेको बताएका छन् ।