काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले आगामी फागुन २१ प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा गरेको छ । सोही विषयमा आयोगका पदाधिकारी र कार्कीबीच छलफल भएको हो ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार छलफलमा कार्कीले प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको बताएकी थिइन् ।
कार्कीले चुनाव सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने बताएकी थिइन् ।
कार्कीले निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह पनि गरेकी छन् ।
छलफलमा आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू मौज्दातमा रहेको र मौज्दातमा नभएका अन्य सामग्री समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने जानकारी दिएका थिए ।
राजनीतिक दललगायत सरोकारवालाहरूसँग समन्वय गरिने उनको भनाइ छ । नेपाल सरकारका तर्फबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन अनुरोध गर्दै निर्वाचनमा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्चार जगत लगायत सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास गरे ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याललगायतको उपस्थिति थियो ।