काठमाडौं । पहिरोमा पुरिएर ज्यान गुमाएका एकै परिवारका ९ जनाको सामूहिक अन्त्यिष्टि गरिएको छ ।
स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा बिहीबार साँझ उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो ।
सामूहिक अत्येष्टिका क्रममा ९ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो । ६ महीनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको हो ।
सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवार भित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिएका थिए ।
घटनाले एकै परिवारका ९ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।
स्याङ्जास्थित वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका नौ जनाको मृत्यु भएको थियो ।
तमादीमा बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १० जनामध्ये ९ को मृत्यु भएको थियो भने एक जनाको जीवितै उद्धार गरिएको थियो ।
पहिरोमा परी ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली, ९ वर्षीय विवश नेपाली र ७ महिनाका शिशुको मृत्यु भएको थियो ।