काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति शुक्रबार प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन् ।
३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।
श्रेष्ठ पटक–पटक काउन्सिलको सदस्यमा नियुक्त हुँदै आएका थिए । काउन्सिलको एक कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिए पनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने यथावत् रहनेछन् । उनको पदावधि यही असोज १२ गते सकिँदैछ ।
‘प्रेस काउन्सिल मात्र होइन, समग्र पत्रकारिता जगत्को स्वतन्त्रताको जगेर्ना र हित प्रवद्र्धनमा सुरुदेखि नै सङ्घर्ष गर्दै आउनुपरेको क्षण अत्यन्तै रोमाञ्चक र चुनौतीपूर्ण रह्यो,’ श्रेष्ठले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
कार्यवाहक अध्यक्षमा बुढाथोकी
प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएका छन् । शुक्रबार कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो ।
साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा सदस्यमा नियुक्त गरेको थियो । बुढाथोकीले आजै पदभार ग्रहण गरेका छन् ।