काठमाडौं । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर हुँदै गएको छ ।
जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर हुँदै गएको जनाएको छ ।
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भएर मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेकाले हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको महाशाखाले जनाएको छ ।
वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा तथा एसएमएस लगायतका माध्यमबाट सम्प्रेषण अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सबैलाई विभागले अनुरोध गरेको छ ।
शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टामा १८६ वटा केन्द्रमा वर्षा भएको छ ।
विभागका अनुसार तीन वटा प्रदेशका बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीमा जलसतहले सतर्कता तह पार गरेकोमा अहिले घट्दो क्रममा छ ।
आइतबार सप्तकोशी नदीले खतरा तह पार गरेको छ । सप्तकोशीका सहायक नदी तमोर, सुनकोशी र अरुण नदीमा खतरा तह पार भई हाल घट्दो क्रममा रहेको विभागले जनाएको छ ।
त्यसैगरी कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलिया, विरिङ लगायतका चुरे महाभारत उद्गम भई बहने नदीमा समेत खतरा तह पार भइ हाल घट्दो क्रममा रहेको विभागले उल्लेख गरेको छ ।