काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बुधबार मातहतका तीन वटा कार्यालयहरूमा अवलोकन तथा निरीक्षण गरे ।
मन्त्री पुनले नास्ट, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रमा छलफल तथा अनुगमन निरीक्षण गरेका थिए । त्यसक्रममा उनले ती निकायलाई निर्देशन पनि दिएका छन् ।
मन्त्री पुनले आफूले ती निकायहरूलाई दिएको निर्देशनबारे फेसबुकबाटै जानकारी दिएका छन् । यस्तो छ मन्त्री पुनको स्टाटसः
म मन्त्रीले हिजो गरेको भेटघाट र दिएको मुख्य मुख्य निर्देशनहरू:
१) नास्टमा २ घण्टासम्म छलफल र ल्याबहरू अवलोकन गरियो । ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको रहेछ । नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यही हप्ताभित्र दिन सबैलाई निर्देशन दिएको छु । भवन र ल्याबहरू उच्च कोटीका छन् । भवन र ल्याबअनुसारको उच्चकोटीको काम हुनुपर्ने कुरामा जोड दिएँ ।
२) शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा ३ घण्टासम्म छलफल भयो । शिक्षकहरूको दखन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरू मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरूको नियुक्ति गर्न देशैभरि लागु हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामाग्रीहरू निर्माणमा जोड दिन कार्यक्रम बनाउने ।
३) पाठयक्रम विकास केन्द्रमा २ घण्टा छलफल भयो । सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नुपर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधानसम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिएको छु । आगामी वर्षदेखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोहीअनुसार पाठ्यक्रम विकास गर्न निर्देशन दिएको छु ।
मुख्य मुख्य कुराकानी र निर्देशन यिनै हुन् ।