काठमाडौं । पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नं. २ का अध्यक्ष प्रभु साहले केही गैरजिम्मेवार प्रहरीका कारण सिंगो प्रहरी संगठनप्रति दिनदिनै अविश्वास र आक्रोश बढ्दो रहेको बताएका छन् ।
प्रहरी हिरासतमा विजय रामको मृत्युपछि फेरि अर्का दलित युवा पनि मृत्युको मुखमा पुगेको भन्दै साहले यस्तो प्रतिक्रिया दिएका छन् ।
यसअघि हत्या अभियोगमा साउन ३२ मा पक्राउ परेका विजयरामको प्रहरी हिरासतमा भदौ १० गते मृत्यु भएको थियो । प्रहरी हिरासतमा विजयरामको मृत्यु भएपछि सो सम्बन्धमा छानबिन गर्न गठित समितिले एसपी रविराज खड्कासमेतलाई कारबाही सिफारिस गरेको थियो ।
एसपी खड्कासहित डिएसपी ज्ञानकुमार महतोलाई पनि कारबाही सिफारिस गरिएको थियो ।
साउन ३१ मा गरुडा–८ का २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले स्थानीय शेख आजाद, २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक राययादव, १९ वर्षीय अर्जुन राम, २० वर्षीय सिकिन्द्र पासवान र विजय राम चमारलाई पक्राउ गरेको थियो ।
तिनै मध्येका सिकेन्द्र पासवानले पनि चरम यातनाका कारण मानसिक सन्तुलन गुमाएको पाएको अध्यक्ष साहले जनाएका छन् ।
'रौतहटको गरुडा नगरपालिका ८, जिंगडियाका निरन्जन रामको हत्या आरोपमा थुनिएका विजय रामलाई केही अराजक प्रहरीको चरम यातनाका कारण मृत्यु भएको घटना सेलाउन नपाउदै सोही मुद्दामा प्रहरी हिरासत भित्रै फेरी अर्का दलित युवा सिकेन्द्र पासवानले चरम यातनाको कारण आफ्नो मानसिक सन्तुलन गुमाएको खबर प्राप्त भएको छ,' साहले फेसबुकमा लेखेका छन्, 'मानसिक अवस्था ठिक नभएकै कारण अदालतले उनको बयान समेत लिएन ।'
यस्ता घटनाले सिंगो प्रहरी संगठनप्रति आम जनमानसमा अविश्वास र आक्रोस बढ्ने साहले जनाएका छन् ।
'एकातिर श्रृंखलाबद्ध रुपमा हत्या हिंसाको घटना घटनु र अर्कोतर्फ केही गैरजिम्मेवार प्रहरीका कारण थप निर्दोषले ज्यान गुमाउनुपर्ने स्थितिले गर्दा आम जनमानसमा सिङ्गो प्रहरी संगठनप्रति दिन दिनै अविश्वास र आक्रोश बढ्दो छ,' साहले फेसबुकमा लेखेका छन्, 'बिजय राम हत्या प्रकरणमा कर्तव्य ज़्यान सम्बन्धी जाहेरी दर्ता भई सक्दा पनि अभियुक्तहरू सरकारी ओहदामा क़ायम रहनु र गृह मन्त्रालयबाट गठित छानबिन समितिको प्रतिवेदन पनि गुमनाम हुनु जस्ता क्रियाकलापले गृह प्रशासनको प्रभावकारी भूमिका प्रति पनि गम्भिर प्रश्न उठेको छ ।'
हेर्नुस् साहको स्टाटस ।
रौतहटको गरुडा नगरपालिका-८, जिंगडियाका निरन्जन रामको हत्या आरोपमा थुनिएका विजय रामलाई केही अराजक प्रहरीको चरम यातनाका कारण मृत्यु भएको घटना सेलाउन नपाउदै सोही मुद्दामा प्रहरी हिरासत भित्रै फेरी अर्का दलित युवा सिकेन्द्र पासवानले चरम यातनाको कारण आफ्नो मानसिक सन्तुलन गुमाएको खबर प्राप्त भएको छ । मानसिक अवस्था ठिक नभएकै कारण अदालतले उनको बयान समेत लिएन ।
एकातिर श्रृंखलाबद्ध रुपमा हत्या हिंसाको घटना घटनु र अर्कोतर्फ केही गैरजिम्मेवार प्रहरीका कारण थप निर्दोषले ज्यान गुमाउनुपर्ने स्थितिले गर्दा आम जनमानसमा सिङ्गो प्रहरी संगठनप्रति दिन दिनै अविश्वास र आक्रोश बढ्दो छ । बिजय राम हत्या प्रकरणमा कर्तव्य ज़्यान सम्बन्धी जाहेरी दर्ता भई सक्दा पनि अभियुक्तहरू सरकारी ओहदामा क़ायम रहनु र गृह मन्त्रालयबाट गठित छानबिन समितिको प्रतिवेदन पनि गुमनाम हुनु जस्ता क्रियाकलापले गृह प्रशासनको प्रभावकारी भूमिका प्रति पनि गम्भिर प्रश्न उठेको छ ।
तसर्थ, यस घटना प्रति गृह मन्त्रालय लगायत सरोकारवालाको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ । साथै, सिकेन्द्र पासवानको उपचारमा सम्बन्धित पक्षलाई शिघ्रता पूर्वक लाग्न तथा कोही निर्दोष नफसोस्, दोषीलाई कारवाही होस् र पीडितलाई न्याय दिइयोस् भन्ने जोडदार माग समेत गर्दछु ।