काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपतिसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रतिष्ठानकी तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।
जिल्ला दाङ, घोराही उपमहानगरपालिका स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारी समेतले MRI मेसिन कम गुणस्तरको खरिद गरी गराई आर्थिक अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ ।
उक्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा MRI मेसिन खरिदको लागि Supply, Delivery and Installation of Magnetic Resonnance Imaging (MRI) System (IFB No: RAHS/NCB/HE/15/077/078) मार्फत बोलपत्र आह्वान गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त MRI मेसिन खरिद गर्न प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रतिकुल हुने गरी बदनियत राखी खरिद आवश्यकताको पहिचान एंव खरिद गुरुयोजना नै नबनाई बजेट माग गरी गराई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरे गराएको देखिएको अख्तियारले जनाएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४ को प्रतिकुल हुने गरी निश्चित कम्पनीसँग मात्र मेल खाने गरी प्राविधिक स्पेसिफिकेशन तयार गरी गराई एकै परिवारबाट संचालन भएको कम्पनीहरूबाट दररेट माग गरी गराई लागत अनुमान तयार गरेको अख्तियारको ठहर छ ।
उक्त प्राविधिक स्पेसिफिकेशन तथा लागत अनुमान स्वीकृत नै नगरी नगराई गोरखापत्रमा IFB No: RAHS/NCB/HE/15/077/078 बाट Supply, Delivery and Installation of Magnetic Resonance Imaging (MRI) System को लागि राष्ट्रियस्तरको बोलपत्र आह्वान(NCB) गरे गराएको देखिएको अख्तियारले जनाएको छ ।
हेर्नुस् अख्तियारको विज्ञप्तिः