काठमाडौं । के अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजर नोबेल पुरस्कारमाथि छ ? ट्रम्पले कतै यही कारण भारत-चीन विवादमा मध्यस्तताको भूमिकाका लागि तयार देखिएका हुन् ?
एक पत्रकारको सवालमा जसरी ट्रम्पले सिधा जबाफ दिनुको साटो घुमाउरो कुरा गरे त्यसबाट धेरैले यस्तै विश्लेषण गरेका छन् ।
ट्रम्पले भनेका छन्- भारत-चीन विवाद सुल्झाउन केही मद्दत गर्न सकें भने मलाई खुसी लाग्नेछ । साथै ट्रम्पले भारत र चीन स्वयम् समाधान निकाल्न सक्षम हुनेछन् भन्ने अपेक्षा पनि गरेका छन् ।
नर्वेको संसदले ट्रम्पलाई नोबेल पुरस्कारको लागि मनोनित गरेको छ । यससँगै उनी उक्त पुरस्कारका लागि सम्भावित विजेताको सूचीमा छन् ।
यसै विषयलाई लिएर पत्रकारले गरेको प्रश्नमा ट्रम्पले भने- नोबेल पुरस्कारका लागि मनोनित हुनु सम्मानको कुरा हो ।
नर्वेको संसदले संयुक्त अरब इमिरेट तथा इजरायलको बीच 'ऐतिहासिक सम्झौत'को सन्दर्भमा नोबेल पुरस्कारको लागि मनोनित गरेको हो ।
पत्रकारले ट्रम्पलाई सोधेका थिए- के तपाईंको विदेश नीतिले चीनलाई रोक्न सक्छ ? राष्ट्रपति ट्रम्पले यस प्रश्नको सीधा उत्तर दिएनन्, बरू भारत र चीनका बीचमा पछिल्लो समय बढेको विवादतर्फ केन्द्रित भए ।
'मलाई थाहा छ कि भारत-चीन अहिले समस्यामा छन् । उनीहरू स्वयम् समाधानको उपाय निकाल्न पनि सक्छन्,' ट्रम्पले भने, 'यदी हामीलाई सहयोग गर्न सक्छौं भने हामी त्यस्तो सहयोग गर्न खुसी छौं ।'
यद्यपी भारत-चीन विवादमा मध्यस्तता गर्ने अमेरिकी प्रस्ताव भारतले यसअघि नै अस्वीकार गरिसकेको छ ।