काठमाडौं । सरकारले चुनावकेन्द्रित गतिविधिलाई तीव्रता दिएको छ । चुनावका लागि आवश्यक वातावरण बनाउन सरकार जुटेको हो ।
प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तिव्रता दिँदै आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्न लागेको छ । गृह मन्त्रालयले बैठक बिहान ११ बजेका लागि तय गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बस्ने उक्त बैठकमा रक्षा सचिव, गृह सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता रहनेछ ।
शनिबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र चारवटै सुरक्षा निकायका प्रमुखहरूबीच चुनावकेन्द्रित छलफल भएको थियो । त्यसको भोलिपल्टै आजको बैठक डाकिएको हो ।
बैठकमा एकीकृत निर्वाचन सुरक्षा योजनाको समीक्षा गरिनेछ र आगामी रणनीतिहरू तय गरिने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयअन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा गठित एकीकृत निर्वाचन सुरक्षा समितिले देशव्यापी सुरक्षा योजना तयार गरिरहेको छ ।
सो समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य छन् भने उपसचिव रविन्द्र अधिकारी सदस्य–सचिव छन् । तयार पारिएको सुरक्षा योजना जिल्लामा पठाइनेछ, जसको कार्यान्वयन प्रमुख जिल्ला अधिकारीको संयोजनमा हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले गर्नेछ ।