काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोमाथि कठोर टिप्पणी गरेका छन् ।
उनले ट्रुथ सोसलमा गरेको पोस्टमा आफ्ना कोलम्बियाली समकक्षीमाथि कठोर टिप्पणी गरेका हुन् ।
ट्रम्पले पेट्रोमाथि अवैध लागूऔषधको कारोबार गर्ने गरेको आरोप लगाएका छन् । उनले पेट्रो लिडर भएको समेत आरोप लगाएका छन् ।
ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, 'कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रो एक अवैध लागूऔषध नेता हुन्, जसले सम्पूर्ण कोलम्बियामा मादक पदार्थहरूको भारी उत्पादनलाई जोडदार रूपमा प्रोत्साहन गरिरहेका छन् ।'
ट्रम्पले अगाडि भनेका छन्, 'यो अब कोलम्बियामा सबैभन्दा ठूलो व्यवसाय बनेको छ । अमेरिकाको तर्फबाट ठूलो मात्रामा भुक्तानी र सब्सिडी दिइए पनि, पेट्रो यसलाई रोक्न केही गरिरहेका छैनन् । यो अमेरिकालाई ठगी गर्नुबाहेक केही होइन ।'
अमेरिकी राष्ट्रपतिले भने, 'आजदेखि यी भुक्तानी र सब्सिडी कोलम्बियालाई दिइने छैनन् ।'
ट्रम्पले यस लागूऔषधका कारण अमेरिकामा धेरैको मृत्यु भइरहेको टिप्पणी गरेका छन् । उनले पेट्रोलाई यसलाई बन्द नगरे अमेरिकाले बन्द गर्ने चेतावनी पनि दिएका छन् ।
विगतका दिनहरूमा ट्रम्पले कोलम्बियामाथि धेरै पटक लागूऔषध तस्करीको आरोप लगाएका छन् । हालै अमेरिकातर्फ आइरहेका केही डुङ्गाहरूमाथि अमेरिकी सेनाले हमला गरी नष्ट पनि गरेको छ । ट्रम्पले तिनीहरूलाई 'ड्रग बोट' भनेका थिए ।