सम्पदा दुई वर्षपछि घर पुगेकी छ अहिले ।
सदरमुकामबाट ३ घण्टामा पुगिन्छ सम्पदाको घर । यसपटक पनि उ तीन घण्टामै सदरमुकामबाट घर पुगी । तर उसले थाह पाइन, उसले उकाली ओराली गर्न नबिर्सेकी हो कि बाटो सजिलो भएको हो ?
ढुंगाले छाएको एउटा ठूलो घर छ सम्पदाको । पछाडि पट्टी गोठ छ । एक हल गोरु र एउटा गाइ छन् । घर अगाडि पनि छ गोठ जहाँ बाँधिन्छ लैनु भैसी । र, अलि तल्तीर बाख्राको खोर पनि छ ।
०००
सम्पदा घर पुग्दा दिउँसोको तीन बजेको हुँदो हो । अहिले भने उ आँगनको डिलमा फलेक बिछ्याएर बनाएको टाँडमा बसिरहेकी छे ।
अलि तलबाट पानी बगेको कुल–कुल, कुल–कुल आवाज आइरहेको छ । केही वर्ष पहिले त्यहीँकी पधेर्नी थिई ऊ । त्यसैले उसलाई न्यास्रो लाग्यो पुरानो पँधेराको । सदरमुकामबाट तीन घण्टा हिँडेर घर आइपुगेकी सम्पदाको थकाई पधेरो जाने इच्छाले कहाँ पुग्यो कहाँ ?
पँधेरो पुग्ने कुतकुतीले उसलाई थकाई मार्ने फुर्सद पनि दिएन । भित्र चुलो पोत्दै गर्नुभएको आमालाई भनी, ‘आमा म कुवा गएर एक गाग्री पानी लिएर आउँछु नि है !’
‘पर्दैन, पर्दैन बेक्काराँ त्यति तल जानु । भरे घरकै धारामा पानी आउँछ ।’ आमाले भित्रैबाट भन्नुभयो ।
०००
सम्पदा दुई वर्षपछि घर फर्किँदा धेरै परिवर्तन भइसकेको थियो । घरघरमा धारो पु¥याइएको थियो । पहिलेजस्तो पानीका लागि तल खोल्सामा जानु पर्ने थिएन ।
युवाहरु विदेशिने क्रम बढेसँगै गाउँ युवाविहीन बन्दै थियो । प्रायः सबैजसो घरमा वृद्धवृद्धा र बालबालिका मात्र थिए । धेरैको हातमा विदेशबाट ल्याइएका स्मार्ट फोन थियो भने घरको छानामा चाँही सदरमुकामबाट किनेर ल्याएको जस्तापाता ।
०००
‘नाई के आमा जान्छु । आफूलाई कस्तो जाउँ जाउँ लागेको छ ।’ उसले जिद्धि गरी ।
‘यो केटीसँग पनि बोलेर कसले जितोस् ! हुरुक्क भएर आकी छे, अझै चुम् चुम् गर्छे,’ आमाले सम्पदालाई यो पटक जवाफ दिँदा पनि चुलो पोतीसक्नु भएको थिएन ।
‘उसो भए गाग्री नलिई जान्छु नि है । एक चोटी हेरेर फर्किन्छु नि ल !’ सम्पदालते आमाको अघि बालहठ देखाई ।
‘यो केटी कहिल्यै ठूली नहुने भई, जा छिट्टै आउनु, अली बाटो हेरेर हिड्नु,’ सम्पदाले कुवा जाने आदेश पाई ।
आमालाई सम्पदासँग बसेर कुरा गर्न मन थियो । तर, भ्याए पो ! ‘यो केटी पनि उस्तै छे यसो आमाछोरी गफ गरौं भन्यो उसलाई अर्कै चासो छ ।’ २ वर्षपछि घर आएकी सम्पदा पँधेरो हिँडेपछि आमाले आँफैसँग भन्नुभयो ।
०००
हुनत दुई वर्षपछि मात्र हो उ गाउँ फर्केकी, तर गाउँ त धेरै परिवर्तन भइसकेको रहेछ । जस्तोकि कुवाको पानी पहिलेजस्तो निश्कलंक थिएन । जस्तो कि उनीहरुले पौडी खेल्नेगरेको दह पुरिएछ, जस्तो कि गाउँमा घरहरु बाक्लिएछन् र मान्छेहरु भने पातलिएछन् ।
उसले सोची कति धेरै परिवर्तन भइसकेछ गाउँ ? गाउँसँगै बदलिएछ पधेँरो, वन र उकाली ओराली । आखिर समयको वेगसँगै परिवर्तन नभइरहन कसरी पो सक्थ्यो र गाउँ ?