काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार यससँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १० हजार १९ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म जम्मा ९ लाख ७८ हजारको पिसिआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । आज मृत्यु हुने सबै पुरुष छन् । यससँगै नेपालमा ४ सय ६७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ जनाले कोरोना भाइरस जितेर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमण जित्नेहरुको संख्या ५३ हजार १३ जना पुगेको डा. गौतमले बताए ।
हाल नेपालमा सक्रिय संक्रमितहरुको संख्या १८ हजार ३ सय ४१ रहेको पनि डा. गौतमले जानकारी दिएका छन् ।
त्यस्तै हाल १० हजार ५ सय ८ जना होम आइसोलेसनमा छन् भने ७ हजार ८ सय ३३ जना संस्थागत आइसोलेसनमा छन् । ६ हजार ३ सय ३१ जना क्वारिन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङ, सिराहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन तथा रुपन्देहीमा ५ सयभन्दा बढी संक्रमितहरु रहेका छन् । त्यस्तै रसुवा, मुस्ताङ, मनाङ, डोल्पा, मुगु तथा हुम्लामा हालसम्म कुनै संक्रमितहरु नरहेको मन्त्रालयले जनाएको छ ।
उपत्यकामा थपिए ७२४
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय २४ जना कोरोना भाइरसका संक्रमितहरु थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ गरी कुल ७ सय २४ जना संक्रमितहरु भेटिएका हुन् ।