काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वार्षिक रूपमा प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान विवादमा परेको छ ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान प्रतिष्ठानका अध्यक्ष गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने हुन् । लामिछानेले आफ्नो मातापिताको सम्झनामा स्थापना गरेको यो सम्मान र पुरस्कार दुवै नेपालका स्थापित र प्रतिष्ठित पुरस्कारमध्ये मानिन्छ ।
तर, यसपटक भने स्थिति पहिलेजस्तो रहेन । पुरस्कार विवादमा पर्यो
प्रतिष्ठानले वि.सं. २०७६ सालको पुरस्कारका सम्बन्धमा आइबार निर्णय गर्यो, २०७६ को पद्मश्री साहित्य पुरस्कार हंस उपन्यासका लागि प्रा.डा. सञ्जिव उप्रेतिलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने ।
प्रतिष्ठानको यो निर्णयसँगै डा. उप्रेतिले भने, म प्रश्रितसँग 'मञ्ज सेयर' गरेर पुरस्कार लिन्न ।
त्यसको कारणाबारे जानकारी दिँदै उप्रेतिले भनेका थिए प्रश्रितमाथि महिला हिंसाको आरोप छ । त्यतिबेलासम्म उप्रेतिले प्रश्रितसँग मञ्ज सेयर गर्दिन भनेका थिए ।
विवाद यतिमै रोकिएन । यो विषय चर्कँदै गएपछि उप्रेतिले फेरि भने म अब पुरस्कार लिन्न । किन त ? निर्णयमाथि नैतिक प्रश्नहरू उठेकाले आफूले पुरस्कार नलिने निर्णय गरेको उनको भनाई छ ।
यति हुँदासम्म पद्मश्री सम्मान र पुरस्कार दुवै चर्चा र विवादको केन्द्रमा पुगिसकेका थिए । त्यसको कारक थियो, उप्रेतीले प्रश्रितसँग मञ्ज सेयर नगर्ने भनेर दिएको अभिव्यक्ति । जसका कारण प्रश्रितको चर्चा त हुने नै भयो सँगै प्रश्रितले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउने शारदा भुसाल पनि यसमा मुछिन आइपुगिन् ।
भुसालले काठमाडौं टुडे अनलाईनलाई अन्तर्वार्ता दिएकी थिइन् । सो अन्तर्वार्ता २०७२ चैत २६ गते प्रकाशित भएको देखिन्छ । उक्त अन्तर्वार्तामा भुसाल भन्छिन्, 'मोदनाथ प्रश्रितले मलाई बलात्कार गर्दा म चिच्याएकी थिएँ । उनले डल्लुमा रहेको डेरामा मलाई बलात्कार गरेका हुन्,'
आफूलाई भ्रष्टाचारविरोधी अभियान्ताको रूपमा चिनाउने भुसालको आत्मकथा 'धरातल'को पेरिफेरिमा रहेर काठमाडौं टुडेलो सो अन्तर्वार्ता लिएको बुझिन्छ ।
उता प्रश्रितको नाम र हस्ताक्षर भएको विज्ञप्ति पनि आएको छ । जसमा यस्तो लेखिएको छः
खेम हरिकला समाज कल्याण परिषद्ले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु’, विज्ञप्तिमा भनिएको छ, ‘यो समाचार प्रकाशित भएपश्चात् अप्रमाणित विषय सुनियोजित रूपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु ।
तर, यो विज्ञप्तिको आधिकारिकतामाथि भने प्रश्न उठेको छ । प्रश्रितका अनुसार उनले सम्मान लिन्न भनेका छैनन्, तर अहिल्यै नगरौं भन्ने सम्म उनको भनाइ हो । प्रश्रितका अनुसार उनले सम्मान बहिस्कार नै गरेका छैन् तर, तत्कालै गर्न भने उनी पनि उत्सुक देखिएका छैनन् ।
स्थापना
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६३ देखि यो पुरस्कार प्रदान गर्दै आएको छ । पद्मश्री पुरस्कार पहिलोपटक पाउने स्रष्टा गणेश रसिक हुन् । उनलाई वि.सं. २०६३ मा 'दसगजामा उभिएर' भन्ने कृतिका लागि प्रदान गरिएको थियो ।
सुरूमा पुरस्कारको राशि एक लाख रहेकामा दुई लाख रुपैयाँ हुँदै वि. सं. २०७६ बाट तीन लाख रुपैयाँ पुर्याइएको छ ।
हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
पुरस्कार विजेताहरू :
वि.सं. २०७६ हंस सञ्जिव उप्रेती
वि.सं. २०७५ छुटेका अनुहार रमेश सायन
वि.सं. २०७४ यार नयनराज पाण्डे
वि.सं. २०७३ सागरमाथाको गहिराइ नवराज पराजुली
वि.सं. २०७२ चीरहरण नीलम कार्की निहारिका
वि.सं. २०७१ मान्ठा डराएको जुग मोहन मैनाली
वि.सं. २०७१ लाटो पहाड उपेन्द्र सुब्बा
वि.सं. २०७० अन्नपूर्णाको भोज मनु ब्राजाकी
वि.सं. २०६९ ताप शारदा शर्मा
वि.सं. २०६८ आफ्नै आँखाको लयमा खगेन्द्र संग्रौला
वि.सं. २०६७ अर्जुन दृष्टि रवीन्द्र समीर
वि.सं. २०६७ जीवन काँडा कि फूल झमक घिमिरे
वि.सं. २०६६ पानीको घाम अमर न्यौपाने
वि.सं. २०६६ अकल्पनीय ध्रुव सापकोटा
वि. सं. २०६५ समय हराएको बेला कृष्ण बराल
वि.सं. २०६४ हिमवत्खण्ड भानुभक्त पोखरेल
वि.सं. २०६३ दसगजामा उभिएर गणेश रसिक