काठमाडौं । चितवनस्थित माडी नगरपालिकाले अयोध्याधाम निर्माणको लागि जग्गा छुट्याएको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय पहिले राम नेपालकै भएको र अयोध्या नेपालमै पर्ने बताएका थिए । भानुजयन्तिका अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएपछि नेपालमै अयोध्याका पर्छ कि पर्दैन भन्ने बहस भएको थियो ।
त्यसै सन्दर्भमा माडी नगरपालिका जहाँ अयोध्या पर्छ भनिएको छ, ले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ ।
नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताए ।
नगर प्रमुख ढकालले छुट्याइएको जग्गामा समस्या आए अन्य व्यवस्था गर्न सकिने समेत बताएका छन् ।
‘प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ ।’
यस्तै वडा नं १ को पाण्डवनगर, वडा नं ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको ढकालले बताए ।
अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उनले डिपिआर निर्माण छिट्टै अघि बढ्ने बताए । उनका अनुसार प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम निरन्तर गरिरहेको छ ।
अयोध्याधाम निर्माण हुने भएपछि माडीवासी उत्साहित भएको पनि जनाइएको छ । माडी–७ का केही स्थानीयले धाम निर्माणका लागि जमिन निःशुल्क रूपमा दिने घोषणा गरिसकेका छन् ।
अयोध्याधाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेल जमिनको टुङ्गो नलागेका कारण काममा अवरोध हुने अवस्थामा कार्यपालिकाको निर्णयले काम अगाडि बढाउन सहज भएको र केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रवेश गर्ने बताउँछन् ।