केहिदिनको झरी उघ्रिएको थियो । दिउँसो घाम चर्किएको थियो । केहीदिनदेखी नधोएका लुगा धुँदै थिएँ ।
कसैले, “लुगा धुन लागेको बाबु ?” भनेर सोध्यो । म टाउको उठाएर आवाज आएतिर हेर्न लागेँ । एकजना वृद्ध व्यक्तिलाई देखेँ । हजुरबुबा उमेरको उहाँ गाँउकै हुनुहुन्थ्यो ।
सिरानघरे बा भनेर सबैले बोलाउथे । कुनै समय उहाँको घर गाँउको सिरानमा थियो । त्यही कारणले उहाँको नाम सिरानघरे बा हुन गयो । तर अहिले भने स्थिति भिन्न थियो । तर पनि उहाँलाई सबैले त्यही पुरानो नामले बोलाउथे ।
उहाँको वास्तविक नाम त कमैलाई थाहा थियो । मलाई पनि जानकारी थिएन । भेट्दा सिरानघरे बा वा हजुरबा भनेरै सम्बोधन गरिन्थ्यो । अनि किन चाहियो अरु नाम !
“हजुर ।” मैले यति मात्र जवाफ फर्काएँ । र उहाँलाई एक नजर नियालेँ ।
हातमा छाता थियो । त्यही छाता नै उहाँको साथी थियो घामपानीको । पानी पर्दा होस् वा घाम लाग्दा साथ त दिने नै गर्थ्यो, हिड्दा टेक्ने सहाराको काम पनि गर्थ्यो । यस्ले अर्को काम पनि गर्थ्यो, गाई गोठालो लाग्दा गाईलाई धपाउने काम । साथी र सहारा गजब थियो ।
शिरमा ढाकाको टोपी थियो, जीउमा दौरा सुरुवाल । मैलो भएजस्तो देखिन्थे । पुरानो भएजस्तो देखिन्थे । दौराको हातको कुममा दौराकै कपडाले टालिएको थियो । थाहा छैन च्यातिएर टालिएको थियो कि बलियो होस् वा त्यहाँबाट नच्यातियोस् भनेर टालिएको थियो । त्यस्तै गरी टालिएको थियो सुरुवालको अगाडीपट्टीको घुडाँको भाग । दुवै हात अनि दुवै खुट्टामा टालिएको देख्दा पक्कै च्यातिएला भनेर टालेको होला भन्ने अनुमान गरेँ ।
अनुहारमा खुसी हुन खोजेको जस्तो तर खुसी हुन नसकेको भाव थियो । सायद भित्र मनमा जे छ त्यही पोखिँदै थियो अनुहारमा । जीवनको उत्तरार्द्धमा मनभित्रको बोझहरूले थिच्दछ सायद । जीवन गह्रौँ देखेँ अनुहारमा ।
नजिकै गाई थियो । उहाँ गाई चराउँदै आउनु भएको रहेछ । हुन त उहाँ प्रायः जसो हरेकदिन गाई चराउँदै यताउता गर्नु हुन्थ्यो । केहीदिन यता झरी परेकाले उहाँलाई देखेको थिइन ।
“अनि कहिले आयौ त बा ?” मलाई सोध्नु भयो ।
“केही हप्ता भयो हजुरबा ।” मैले कपडामा साबुन दल्दै जवाफ दिएँ ।
घरमुनि सडक थियो । सडकमा दुबो लगायतका घाँस उम्रिएका थिए । गोठालोहरूले वस्तुभाउ लिएर हिड्ने बाटो मात्र होइन चराउन कै लागि पनि काममा आउथ्यो । उहाँ पनि सडकमै गाई चराउँदै हुनुहुन्थ्यो । केहीबर्ष यता गाई नै उहाँको सहयात्री बनेको थियो । गाई चराउनु, पिठो पानी दिनु, घाँस काटेर हालिदिनु उहाँको दैनिकीमा पर्थ्यो ।
“कहिले फर्कन्छौ त ?” म सहरतिर बराल्लिन थालेको कुरा उहाँलाई थाहा थियो ।
“केही दिन अझै बस्छु होला ।” कपडा पखाल्दै भनेँ ।
गाई सन्तोषी थियो । यता उता नदौडने । एकै ठाँउमा चरिरहने । हजुरबालाई दुःख नदिने रहेछ । जिन्दगीमा अनेकन दुःख पाइसकेका, अनेकनले दुःख दिइसकेका उहाँलाई गाँईले भने दुःख दिएको रहेनछ । सोचेँ, अचम्म लाग्यो ।
लुगा धोइसकेर मैले उहाँलाई “अम्बा खाने हजुरबा ?” भनेर सोधेँ ।
सुरुमा त “दाँत झरीसक्यो बा । के अम्बा खानु ?” भनेर आलटाल गर्नु भयो । पाकेको अम्बा छ भनेर मैले कर गरेपछि उहाँले खानुभयो ।
त्यसपछि म लुगा सुकाउनतिर लागेँ । उहाँ गाई चराउँदै अगाडि लाग्नुभयो । उहाँ मेरो नजरबाट त ओझेल पर्नुभयो तर मनमा भने उहाँकै कुरा खेलिरहेँ । उहाँको जीवनका उतारचढाव निकैबेरसम्म मेरो मनमा खेलिरह्यो ।
उहाँलाई सम्झिँदा उहाँको घर सुरुमै मस्तिष्कमा आयो । गाँउको सिरानको घर । घर, घर मात्र नभएर एउटा शान थियो ।
त्योबेला गाँउमा त्यो जत्ति सम्पन्न घर अरु थिएनन् । चारैतिर बार्दली, चारैतिर आँगन । आँगनको डिलमा फूलको बगैचा । घाम उदाएदेखी अस्ताउदासम्म लागिरहन्थ्यो । बुईगलसहितको ढुङ्गाले छाएको त्यो घर त्यो बेलाको रहरलाग्दो घर थियो । सबैको रहर हुन्थ्यो, मेरो पनि यस्तै घर होस् । त्यतिबेला सबैको घर खरले छाएको हुन्थ्यो । बुइगलसम्म बनाउने क्षमता गाँउमा अरुको थिएन ।
उहाँको घरको अर्को विषेशता, त्यहाँबाट पूरा गाँउ देखिन्थ्यो । उहाँको घरबाट गाँउ सुरु हुन्थ्यो । सबैले उहाँलाई सिरानघरे बा भनेर बोलाउँथे । त्यसैले उहाँको नाम नै सिरानघरे बा हुन गएको थियो ।
हामी पनि सानोमा गाँउ हेर्न भनेरै उहाँको घर पुग्थ्यौँ । घरको बार्दलीमा त जान दिनुहुन्नथ्यो तर आँगनमा खेल्न भने पाइन्थ्यो । कत्ति पटक त आँगनमा खेल्दाखेल्दै डिलको फूल चोरेर पनि भागेका छौँ ।
हजुरआमाले बगैँचाको रेखदेख गर्ने भएकाले फूल टिपेको देख्नुभयो भने उहाँले गाली गर्नुहुन्थ्यो । तर हजुरबाले भने गाली गर्नु हुन्नथ्यो । जहिले जाँदा पनि खुशी देखिनुहुन्थ्यो । कहिलेकाहिँ त खाजा पनि भेटिन्थ्यो । त्योभन्दा अरु के चाहियो एउटा बच्चालाई ।
उहाँको सन्तान एउटा मात्र थिए, छोरा । छोरालाई पढाउन सानैदेखी सदरमुकाम पठाउनु भयो । छोराले सदरमुकाम बसेर पनि पढाइमा त्यतिविधि प्रगति गरेनन् । बरु गाँउमै पढ्नेहरूले राम्रो गरिरहेका थिए । तैपनि हजुरबाले छोराको पढाइमा कुनै सम्झौता गरेनन् । कुनै बाधा आउन दिएनन् ।
छोराले सदरमुकामको पढाइसकेर भने थप पढ्न सहर गएनन् । खै किन हो ? त्यसपछि गाँउमा आएर बस्न थाले । पछि बिहे धुमधामसँग भयो । सात गाँउका मान्छेलाई निम्ता दिइयो । तर धुमधामको बिहेजस्तो घर गृहस्थी हुन सकेन । घरमा खटपट देखिन थाल्यो र बिहेको बर्षदिन पनि नबित्दै एकदिन छोराबुहारी भिन्दो बसे । त्यसपछि हजुरबाको दिन राम्रो चल्न सकेन ।
घरमा बुढाबुढी दुईजना मात्र भए । त्यति धेरै धनसम्पत्ती, त्यति ठूलो नाम, त्यति ठूलो शान ! र पनि त्यसले त्यो खल्लोपन मेटाउन सकेन । त्यो खालिपन केहीले ओगट्न सकेन । वानी त उनिहरूलाई पहिले पनि थियो, छोरा सँगै नभएको तर अब त्यो वानीले काम गर्न सकेन । बुढेसकाल लाग्दै गर्दा सहारा बन्ला भनेको छोरोले बेसहारा बनाएपछि बाआमाको मन केले मान्थ्यो होला र ? तर पनि उनिहरू खुशी हुने कोसिसमै रहे । घरका काम रोकेनन् ।
बर्षहरू बिते ।
समय उस्तै रहेन । एकदिन हजुरआमाले पनि छोडेर अर्कै संसार गइन् । हजुरबा एक्ला भए । बुढेसकालले छोइसकेको थियो । एक्लै बस्न सक्ने स्थिति थिएन । उनि अन्तत छोरासँग बस्न बाध्य भए ।
त्यतिबेला गाँउमा सडक बनिसकेको थियो । सडकको छेउमा छोराले घर बनाएको थियो । आफ्नो मेहनतले बनाएको घर छोडेर हजुरबा एउटा विरानो संसारमा रुमल्लिन बाध्य भए । बाबुछोराको मिलन त भएको थियो तर त्यहाँ खुशी थिएन ।
छुट्टीएर छोरा बुहारी गएका थिए । सँगै बस्न उहाँलाई जान परेको थियो । सम्बन्धमा एउटाले खाल्डो बनाउने तर पुर्ने अर्कोले, यो सम्भव नहुँदो रहेछ । नसकिँदो रहेछ । सँगै बसेपनि पहिलेको जस्तो मिठास त्यो घरमा देखिएन । सम्बन्ध कहाँकहाँ नमिलेको भइरह्यो । सँगै भएर पनि सँगै कहिल्यै हुन सकेनन् । तर पनि उहाँ छोराबुहारीको सधैँको कचकच सहेर बसि नै रहे ।
उहाँसँग अझै पनि त्यो गाई थियो जुन आफ्नी जहानले हुर्काएर पालेकी थिइन् । छोराबुहारीले लाख कोसिस गर्दा पनि उहाँले गाई बेच्नुभएन, कसैलाई दिनुभएन । गाईलाई जे दियो खान्थ्यो, नदिए चुप लागेर बस्थ्यो । धेरैथोक खोज्दैनथ्यो । थोरै घाँस वा पराल, बिहान बेलुका पिठो पानी । ब्याएपछि पनि धेरै समयसम्म दूध दिइरहन्थ्यो ।
आफ्नी जहान हुँदा त जहानलाई मात्र दूध दिन्थ्यो । एक हाते थियो । तर जहान बितेपछि भने उहाँलाई पनि दूध दिन थाल्यो । उहाँलाई लाग्यो, जहानको आत्मा गाईमा गएर बसेको छ । जहानको चिनो भनेर आफैँसँग राख्नुभयो । आफ्नो एक्लोपन साट्ने बाटो फेला पार्नुभयो ।
अहिले छोरो विदेश गएको छ । घरमा नानीनातिना पनि छन् । घरमा बुहारीको खटनपटन छ । बुहारीको दिनको काम पकाउने, खुवाउने, छोराछोरीलाई स्कूल पठाउने । त्यतिमै सीमित भएको छ ।
तर देखीसहदिनन् बालाई । भनेको नमान्ने, जिद्दी, घमण्डी । यस्तै मान्दछिन् । उमेर बितेपछि, आफ्ना भन्नेहरू आफूसँग नभएपछि मान्छे एकोहोरो हुनु स्वभाविक हो । तर उमेर ढल्केपछि हुने व्यथा उमेर भएकाहरूलाई के थाहा हुन्छ र ।
खेतबारी अरूलाई कमाउन दिएको छ । हजुरबाले थोरै बारीको हेरचाह आफैले गर्नुहुन्छ । अरूलाई कमाउन दिएको बारी आफूले किन हेर्नु परेको भनेर रिसाउँदै बुहारीले एक छाक त खाना खान पनि दिइनन् । तर पनि हजुरबा खाली समय त्यही बारीमा बिताउनुहुन्छ । तरकारी लगाउनुहुन्छ । गोडमेल गर्नुहुन्छ । आफूलाई व्यस्त राख्नुहुन्छ । गाईको मलले तरकारी राम्ररी सप्रिन्छन् । बाको मेहनत, हेरचाहको कमाल मान्नुपर्ला ।
लुगा सुकाइसकेर म आँगनको डिलमा गएर उहाँको पुरानो घरतिर नजर लगाएँ । भत्किएको घरको भग्नावशेष थियो त्यहाँ । मान्छे बस्न छोडेपछि घरलाई भत्किन कति नै समय लाग्दो रहेछ र ! थोत्रो भइहाल्दो रहेछ । भत्किहाल्दो रहेछ । केही थान मुसा, केही थान भ्यागुत्ता, अनेकन किरा, माकुरा आदीको बासस्थान भएको होला ।
तिनीहरूले घरको स्याहार गर्दा रहेनछन् । उहाँ बस्न छोडेको केही बर्षमै घर भत्कियो । कसैको कामको चिज नभएपछि त्यो त्यत्तिकै रह्यो । भग्नावशेष पनि हटाइएको छैन ।
कुनै समय सारा गाँउतिर दृश्य कुदिरहने आँखाहरू छैन, रहर गर्ने मन छैन ।
भत्किएको घरले लगाउँदो हो गाँउको नजर तर गाँउले त्यतातिर सायदै नजर लगाउँछ ।
@kirrkur