ल आयो हजुर आयो, मिठो चटपटे आयो, १० रुपैयाँ हजुर मात्र १० रुपैयाँ ... ।
पानीपुरी हजुर पानीपुरी, खानमा फिट् स्वादमा हिट् आयो हजुर पानीपुरी ... ।
मोजा हजुर मोजा सयमा तीनजोर, नगन्हाउने मोजा सयमा तीन जोर ... ।
गाउँको बारीमा पहेँलै भएर तोरी फुलेको बेला माहुरीको गुनुनुनुनु जस्तै लाग्यो श्रृष्टिलाई ती चर्का आवाजहरु । तर, मिठासयुक्त होइन कर्कसपूर्ण । उसलाई भित्रभित्रै रिस उठ्यो ती आवाज बोल्नेहरुसँग, त्यो कोलाहालसँग, त्यो अशान्तिसँग ।
तर किन ?
किनभने आज उसलाई शान्त वातावरण चाहिएको छ । किनभने आज उसलाई एकान्त चाहिएको छ । किनभने आज उसलाई गोधुलीको चिरबिर चिरबिर चाहिएको छ ।
०००
यो श्रृष्टिकै रोजाई हो, समय पनि र स्थान पनि । रस्मितको त केवल स्वीकृति मात्र । त्यसैले श्रृष्टि मनमनै रिसाएकी हो, यो रोजाई पनि रस्मितको भैदिएको भए उसको रिस मनभित्रै मात्र रहिरहन कहाँ सक्थ्यो र !
कहिलेकहिले त उ रिसै नउठे पनि रिसाएजस्तो गरिदिन्छे । उसको चाहना हुन्छ मलाई रस्मितले फकाओस् भन्ने, फुल्याओस् भन्ने । अनि धेरै बेरपछि रस्मितलाई माफी दिएझैं गर्ने ।
श्रृष्टि धेरैपटक रस्मितसँग रिसाईसकेकी छ, यस्तै गरी । तर, यथार्थमा उ रस्मितसँग रिसाएको सम्झना भने उसलाई छैन ।
०००
‘साहुजी एक कप चिया दिनुस् त ।’
पसलका साउजीलाई श्रृष्टिको यो तेस्रो अर्डर हो । यसअघि उसले यही ठाउँमा बसेर दुई कप चिया रित्याइसकेकी छ ।
‘कस्तो झ्याउ लाग्दो दिन यार ? मेरो घडी कस्तो ढिलो चलेको ?’ उसले मनमनै भनी र फेरि घडी हेरी । ओहो, रस्मितले उसलाई दिएको समय हुन त अझै आधा घण्टा बाँकी रहेछ ।
घडीको ब्याट्री सकिएछ कि क्या हो कस्तो चल्दै नचलेको ! उसलाई यस्तै लाग्यो र ब्यागबाट मोबाइल झिकेर समय हेरी । घडी र मोबाइलको समय बराबर रहेछ । श्रृष्टिले अझै आधाघण्टा पर्खनु पर्ने भयो ।
पर्खाई र चियासँगै उसले कल्पना पनि मिसाउन थाली । जस्तो कि उ वास्तवमै कस्तो छ ? जिन्दगीमा पहिलोपटक कसैलाई भेट्नुअघि श्रृष्टि यतिधेरै अधिर भएकी थिई ।
श्रृष्टि आँफैसँग कुरा गर्न थाली– कस्तो होला रस्मित ? कति अग्लो होला ? मभन्दा त अलि अग्लो नै होला ? फेसबुकमा देखिए जस्तै होला कि अलि फरक ?
अँ साँच्चै उसँगको पहिलो भेटमा उसले के भनेर बोलाउला ? मैले के भनेर बोलाउँला ?
उसले पहिलेपटक बोलायो भने के भन्ला ? हेलो श्रृष्टिजी भन्ला ?
छि ! भन्दैन होला श्रृष्टिजी त, बरु तपाईं श्रृष्टि हो ? भनेर पो सोध्ने पो हो कि ? त्यसरी सोध्दैन होला चिनीहाल्छ नि । चिनेन भने मैले जानेको छु तेल्लाई ?
छि ! म पनि कस्ती ? रस्मितलाई त्यसरी ऊ नभएको बेला ‘तेल्लाई’ भन्ने हो त ? कस्ती छुच्ची म ? मैले त्यसो भन्नु नहुने ।
मैले चाँही के भनुला ? मत उसँग सुरुमा ज्यान गए पनि बोल्दिन । उता फर्केर बसिरहन्छु । उही बोलोस् उसकी प्रेमिकासँग ?
अनि मैले पनि त मेरो प्रेमीसँग बोले भैहाल्यो नि सुरुमै ?
उ प्रेमी कसरी भयो ? अहिलेसम्म भेट पनि भएको छैन ? उ प्रेमी होइन । उ प्रेमी नभए किन यति धेरै अधिर भएकी म ? हो के हो, उ मेरो प्रेमी हो ।
श्रृष्टि आफ्नो मनको प्रश्नको उत्तर आफ्नै मनले दिइरहेकी छ ।
त्यसो भए मैं बोलुँ त पहिले ? होइन होइन उही बोल्छ । उसले पनि बोले हुन्छ नि आफ्नी प्रेमीकासँग ।
यदि उ आएर मेरो छेउमा बसेन भने ? उ त्यो परको टेबुलमा बस्यो भने ? बसे के त ? म पछि लागेर गए पो ? उ यहीँ आउनुपर्छ । भो त्यसको पछि लागेर जाउँला त म ? खै के थाहा त !
रस्मित आएर पल्लो टेबलमा बस्यो भने भने म त्यहाँ जान्छु कि जान्न ? ‘जान्छु ।’ ‘इस् जान्छु त जान्न ।’
उसको मनको अन्तर्द्वन्द्व अझै रोकिएको छैन ।
होइन त्यस्तो हुँदैन । रस्मितले त्यस्तो गर्दैन । उ यहीँ बस्छ । यही टेबलमा बस्छ ।
यहीँ बस्यो भन्ने अगाडिपट्टी बस्छ कि यहीँ टाँसिएर बस्छ ? कहाँ टाँसिन आउँछ यहाँ ? उ त्यहाँ बस्छ नि अगाडिपट्टी आँखा जुध्ने गरी ।
हो खुब ! यहीँ टासिन आउँछ । कम्ती छुचो छ त्यो केटो ? भेट पो भएको छैन त तर त्यसको छुच्याईं त थाहा छ मलाई पनि । उ पक्कै टाँसिएर बस्न आउँछ । छ्या टासिनै आउँछ त ? पक्कै पनि आउँछ ।
यस्तो सोच्दा सोच्दै उ अलि भित्तामा सरी । मानौं उसले रस्मितका लागि ठाउँ खाली गरिदिइसकी ।
ह्याँ म पनि । कहाँ यस्तो होटलमा टाँसिन आउँछ उ मसँग, आउँदैन । म पनि बित्था बित्था सोचेर बस्छु । तर, त्यसको भर छैन, टाँसिनै आयो भने ? यदि आयो भने त म उसलाई चिमोटीदिन्छु, बेस्मारी ।
होइन होइन बिस्तारै, नदुख्ने गरी ।
......
उसले कति प्रयास गरी आफ्नै मनको दुईतर्फी कुरा रोक्न तर अहँ सकिँन । उसको जोड चलेन आफ्नै मनसँग । उसलाई लाग्न थाल्यो उसको मन उसको रहेन कसैले चोरीसक्यो । तर कसले ?
‘त्यै रस्मितले ।’ उसले आँफैलाई उत्तर दिई । तर, मन रोक्न सकिन । बरु स्रोता बनेर सुनिरही आफ्नै मनको अन्तर्द्वन्द्व ।
स्रोता भएर आफ्नै मन सुन्दा उसलाई खुब रमाईलो लाग्यो । श्रृष्टिले चियासँगै मनमा कुरा खेलाईरही । र फेरी घडी हेरी अब ५ मिनेट बाँकी रहेछ रस्मित होटलमा आइपुग्छु भनेको समय पुग्न ।
समय नजिकिँदै जाँदा उ झन् अधिर हुँदै गएकी छे । उसलाई पसिना आएजस्तो भएको छ । उसलाई शून्यता महसुस भइरहेको छ । तर उ स्वयंलाई थाहा छैन कि उसले केही गुमाउन लागेकी हो कि केही पाउन लागेकी हो ।
श्रृष्टिले ब्यागबाट मोबाइल झिकी र हातमा बोकी । उसलाई यस्तो लाग्न थाल्यो होटलमा आएर रस्मितले उसको नम्बर डायल गरिसक्यो अब उसको मोबाइलमा फोन आउँछ ।
०००
अफिसको काम सक्नेबित्तिकै रस्मित सोझै हान्नियो श्रृष्टिले बोलाएको होटलमा । उ होटलभित्र पस्यो । सबैतिर ध्यान दिएर हेर्यो, उसका आँखाहरु श्रृष्टिको खोजीमा थिए ।
अहँ उसलाई ठम्याउन गाह्रो भयो । तैपनि पर एउटा टेबलमा एकजनामात्र बसेको देख्यो । उ अझ नजिक गयो । उसलाई लाग्यो श्रृष्टि त्यही हो । उ अझ नजिक गयो अनि उसलाई विश्वास भयो कि श्रृष्टि उही हो ।
यसैबीच श्रृष्टिले पनि आफूतर्फ आउँदै गरेको एउटा पुरुष आकृतिलाई हेरी र आफ्नो रस्मितसँग तुलना गरी ।
हो त रस्मित नै त हो ।
०००
'चिया खाउँ ल,' उसले कुनै सम्बोधन नै नगरी रस्मितलाई भनी
'हुन्छ' रस्मितले पनि छोटो उत्तर दियो ।
सुरुमा सर्माएका दुवैजना चिया खाँदै गर्दा विस्तारै खुल्दै गए । औपचारिक रुपमा सुरु भएको उनीहरुको बोलचाल विस्तारै अनौपचारिक बन्दै गायो ।
‘कतिखेर आयौ ?’ रस्मितले सोध्यो ।
‘एक घण्टा भइसक्यो नि ! आफू चै भर्खर आएर । म त हिड्नै लागिसक्या थें,’ श्रृष्टिले जबाफ फर्काई ।
‘अनि मैले जतिबेला आउँछु भनेको थिएँ, त्यतिबेला ठ्याक्कै आएको छु, अफिस छुट्टी नभई कसरी आउनु ?’ रस्मितले प्रष्टिकरण दियो ।
‘हो खुब, एक दिन त अफिसबाट अलि छिटो पनि निस्कन सकिन्छ भो । कत्ति न कसैका नभएका अफिस,’ श्रृष्टिले पर्खाईको सबै रिस पोखी ।
रस्मित चियामा केन्द्रित भयो, श्रृष्टिको यो सवालको जबाफ दिएन । केही छिनको मौनतालाई चिर्दै रस्मितले भन्यो, ‘आज त धेरै सुन्दर देखिएकी छौं ।’
‘तिमी पनि कम्ता राम्रो छौ,’ भन्छे भनेर भनेको होला मैले त्यसो भने पो, सृष्टिले जवाफ फर्काई ।
‘ल ल नभन । तिमीले त्यसो भन्नु परेन । जे भए पनि तिम्लाई मन परिगएँ क्यारे,’ रस्मितले भन्यो ।
‘छि ! तिमी मलाई मन पर्यौ रे ? कसले भन्यो यस्तो झुट कुरा ?,’ श्रृष्टिले रेडिमेड जबाफ फर्काई यसो भनिरहँदा उसको हाउभाउ भने कृत्रिम देखिन्थ्यो । उसैलाई पनि यस्तै लाग्यो ।
रस्मितले फेरि कुरा मोड्यो, ‘अनि हालचाल के छ नि ?’
‘सब ठिक छ, तिम्रो सुनाउ ।’ यो श्रृष्टिको जबाफ हो ।
........
उनीहरुले यस्ता कुरा गर्दागर्दै झमक्क साँझ परिसकेको थियो । बाहिर सडकमा पसल राख्नेहरुको चलहपहल अझ बढेको थियो । त्यसै गरी गाडीको टाँटाँ टीँ टीँ पनि चर्को भइसकेको थियो ।
यस्तो लाग्छ अरु सबै मानिसहरुलाई हतार छ सिवाय श्रृष्टि र रस्मित । अब उनिहरु पनि होटलबाट बाहिर निस्किए । बाहिर झमक्क भइसकेको रहेछ ।
०००
सडकमा हिड्दै गर्दा रस्मितको देब्रे हात समातेर चुपचाप हिडिरहेकी छ श्रृष्टि ।
अलि पर पुगेपछि उनीहरु आमनेसामने भएर उभिए । छुट्टिने बेला भइसकेको थियो । रस्मितलाई समाएको श्रृष्टिको हात अझ दह्रिलो हुँदै गयो ।
‘मन नपरेको मान्छेलाई त कसैले पनि नसमाओस्,’ अघि होटेलमा अधुरो रहेको श्रृष्टिको सवालको जबाफ भर्खर फर्कायो रस्मितले ।
‘सरी बाबा सरी, त्यति भन्न पनि नमिल्ने छुच्चो ?’ श्रृष्टिले लाढे स्वरमा भनी अनि त्यही समातिरहेको हातलाई आफ्नो अर्को हातले चिमोटिदिई ।
‘भयो अब त छोड,’ रस्मितले भन्यो ।
‘नाई अब त यो हात म कहिल्यै पनि छाड्दिँन,’ श्रृष्टि झन् लाढे पल्टिई ।
०००
त्यहाँबाट छुट्टिएर उनीहरु फेरि–फेरि भेट्ने वाचा गरी आआफ्नो गन्तव्यतर्फ लागे । श्रृष्टिको कोठा नजिकै थियो । रस्मितको अलि टाढा ।
श्रृष्टि कोठामा पुगेर हेर्छे त उसले आज बिहानको जुठा भाँडा माझेकै रहिनछ । उसले यस्तरी भाँडा जुठै छाड्ने गरेकी थिइन । खाने बित्तिकै माझीहाल्थी । तर, आज किन यस्तो भयो ? र किन उसले यो सब कुरा थाहा पाइन ?
मनमनै भनी ‘त्यही रस्मितले गर्दा त हो नि ।’
०००
उता रस्मित कोठामा पुग्दा गेट लागिसकेको रहेछ । उ कहिल्यै यस्तरी ढिला भएको थिएन । त्यसैले उसँग गेटको साँचो पनि थिएन । उ जहिले पनि समयमै निस्कन्थ्यो र समयमै आउँथ्यो ।
रस्मितले घरबेटी अंकललाई फोन गरेर गेट खोलिदिन भन्यो ।
गेट खोलिदिएपछि घरबेटी अंकलले भने, ‘आज किन ढिला भयो बाबु ? तपाईं सधैं समयमै आउनुहुन्थ्यो । म त आइसक्नुभयो होला भनेर गेट लाइदिएको । धेरै बेर बाहिर बस्नुपर्यो हगि ?’
‘होइन होइन आज अफिसको काम अलि बढी थियो त्यसैले ढिला भयो,’ रस्मितले ढाँटेर जबाफ दियो ।
‘ए ए ठिकै छ । अरु दिन पनि ढिला हुनसक्छ भने गेटको चाबी तपाईं पनि राख्नुहोला । बाहिर यसरी उभिरहनु त पर्दैन,’ घरबेटीले भने ।
‘होइन पर्दैन । आज मात्र हो । अरु बेला त म समयमै आइपुग्छु,’ रस्मितले जबाफ फर्कायो ।
त्यसपछि उसले आफ्नो कोठा खोलेर भित्र पस्यो भने घरबेटी आफ्नोमा गए ।
ढोका खोलेर भित्र पसेर कपडा बदल्दै गर्दा रस्मितले मनमनै सोच्यो, अब घरबेटी अंकलसँग गेटको एउटा चाबी माग्नुपर्ला ।