काठमाडौं । रुसमा निर्मित कोरोनाभाइरस विरूद्धको खोप ठूलो परिमाणमा नेपालमा भित्र्याउन गरिएको सम्झौतामा नेपालस्थित रुसी राजदूतावासको समर्थन रहेको उक्त सहमतिको मस्कोस्थित पक्षले बताएको छ ।
रुसको सार्वभौम सम्पत्ति कोष अन्तर्गतको रुसी प्रत्यक्ष लगानी कोष आरडीआईफका प्रवक्ताले बीबीसीलाई यो जानकारी दिएका हुन् ।
यसै साता मस्कोमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा आरडीआईएफले नेपालको एउटा निजी कम्पनी ट्रिनिटी फर्मास्युटिकल्ससँग अढाइ करोड रुसी खोप आपूर्ति गर्ने सहमति गरेको उल्लेख गरिएको थियो ।
त्यसबारे आफूहरू बेखबर रहेको नेपाली अधिकारीहरूले प्रतिक्रिया दिएपछि विगतमा खासै नाम नसुनिएको स्वास्थ्य सामग्री सम्बन्धी थोक विक्रेताले रुसको निकायसँग भएको सहमतिबारे बिहीवार सरकारलाई जानकारी गराएको छ ।
त्यसबारे शुक्रवार नेपाल सरकारले हालसम्म संसारमा कतैपनि प्रभावकारी खोप पत्ता लागि सकेको स्थिति नभएको भन्दै खोप पत्ता लागेपछि आफैँले नेपाली जनताका निम्ति ल्याउने स्पष्ट पारेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी नियमित प्रेस ब्रिफिङमा भने, "खोप बनिसकेपछि नेपाल सरकारले आफ्नै पहलकदमीमा नेपालमा खोप उपलब्ध गराउँछ । कुनै निजी कम्पनीले बाहिर सम्झौता गरेको भन्ने हल्लाहरू पनि आएका छन् । यी हल्लाहरूको पछि नपर्न सम्पूर्ण सम्बन्धितलाई म अनुरोध गर्दछु ।"
स्पुत्निक नामक उक्त रुसी खोपको परीक्षण नेपालमा गराउनेबारे विगतमा उच्च सरकारी अधिकारीहरूलाई रुसी राजदूतले भेटेर कुराकानी गरेका विवरण आएका थिए ।
तर पछिल्लो सम्झौताबारे राजदूतावासको औपचारिक धारणा लिने बीबीसीको प्रयासमा कुनै जवाफ आएको छैन ।
बिबिसी ।