काठमाडौं । अचेल कपालमा चाया पर्नु धेरैको समस्या हो । काठमाडौं लगायतका स्थानमा व्याप्त धुवाँ धुलो तथा कपालका लागि हानीकारक वस्तुहरुको कारणले कपालमा चाया पार्ने गर्दछ ।
सामान्यतयाः कपालमा चाया नपरेका मानीसहरु थोरैको संख्यामा मात्रै पाउन सकिन्छ । कपालमा चाया परेको औषधि के हुनसक्छ भन्ने कुरा धेरैको चासोको विषय हुन सक्छ ।
धेरै मानिसहरुको स्वभाव कपालमा तेल लगाउने हुन्छ । तेल लगाउँदा कपाल चिल्लो ओसिलो एवं आकर्षक देखिने भएकाले धेरैले तेल लगाउने गरेको पाउन सकिन्छ ।
यद्यपी तेल लगाउनु कपालको सुन्दरताका लागि फाइदाजनक नहुने डाक्टरहरुले बताउँने गरेका छन् । उनीहरुका अनुसार तेलले टाउकोको तालुमा एउटा तह बनाउने र छालामा प्राकृतिक रुपमा ओसिलो बनाउनबाट रोक्ने गर्दछ । जसले गर्दा तालुमा पत्रहरु बन्ने र त्याहाँ भएका स-साना प्वालहरुलाई बन्द गरेर कपालमा चाया पार्ने उनीहरुको राय छ ।
यतिमात्रै नभएर पहिलेनै चाया परिसकेकाहरुको लागि तेल लगाउनु असरदार हुने उनीहरुको भनाई रहेको छ । चाया भएकाहरुले तेल लगाउने गरेमा त्यसले कपाल झार्ने समस्या पनि देखिन सक्ने उनीहरुले बताएका छन् ।
त्यसैगरी कपालमा तेल लगाईरहदा कपालको चमकमा समेत असर पार्ने गर्दछ । त्यसैले ध्यान दिनुस् तपाँईले कपालको सौन्दर्य बढाउनका निमित्त लगाउँदै आउनुभएको तेलले कतै तपाँईको कपालको सौन्दर्यलाईनै नकारात्मक असर त पारिरहेको छैन ?
चाया हटाउने केही यस्ता सरल तरिकाहरु पनि छन् । जसको प्रयोग गरेको खण्डमा तपाँईको कपाल चायामुक्त हुन सक्दछ ।
नुहाउनु अगाडि तालुमा कागतीको रस लगाएर मालिस गर्ने गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्ने गर्नुहोस् । यसो गरेको खण्डमा तपाँईको कपालमा भएको चिपचिप हटाउन, चाया भगाउन तथा कपालमा चमक ल्याउन मदत गर्दछ ।
त्यसैगरी नुहाउनुभन्दा पहिले तालुमा एलोभेरा (घ्यूकुमारी) को जेल लगाएर मालिस गर्नुहोस् । त्यसपछि त्यसलाई २० मिनेटसम्म त्यतिकै छाडेर कपालमा स्याम्पु लगाएर धुने गर्नुहोस् । यसले चाया नियन्त्रण तथा कपालको सुन्दरता बढाउनको निमित्त सहयोग पुर्याउँदछ ।
त्यसैगरी कपाल तथा तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस् । स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस् । यसलाई हप्ताको दुई पटक प्रयोग गर्ने हो भने तपाँइको कपालको चाया नियन्त्रणमा सहयोग पुग्नुको साथै कपालको सौन्दर्य बढाउन पनि ठूलो भूमिका निर्वाह गर्दछ ।