काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसका सम्बन्धमा जानकारी दिन नियमित रूपमा आयोजना हुने पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तिमध्ये १ हजार ५ सय ९९ जना काठमाडौं उपत्यकाका मात्र रहेका जानकारी दिए ।
यससँगै नेपालमा हालसम्म ८६ हजार ८ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना ५ दिनकी शीशु पनि छिन्, उनी मकवानपुरकी भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको डा. गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना संक्रमण जितेर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनाको संक्रमण जित्नेको कुल संख्या ६४ हजार ६९ पुगेको गौतमले बताए ।
गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । शुक्रबारदेखि सङ्क्रमितको सङ्ख्या २,००० नाघिरहेको छ । शुक्रबार मन्त्रालयले २,७०० जना भन्दा बढीमा सङ्क्रमण भेटिएको जनाएको थियो ।
मन्त्रालयका अनुसार हाल २२ हजार २ सय १९ जना सक्रिय संक्रमितहरू रहेका छन् । तीमध्ये ११,८९३ जना होम आइसोलेसन तथा १०,३२६ संस्थागत आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म नेपालमा १० लाख ७४ हजार ४ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।