काठमाडौं । सरकारले कोरोना भाइरसको महामारीका कारण रोकिएका सबै तहका परीक्षा सञ्चालनका लागि सैद्दान्तिक सहमति दिएको छ ।
मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । बुधबार मन्त्री ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।
यद्यपी परीक्षा सञ्चालनका लागि सरकारले तोकेका मापदण्डहरू भने पूरा गर्नुपर्ने उनको भनाइ थियो । ‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहद्वारा जारी गरिएका, जनस्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्नेगरी परीक्षा सम्बन्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह विषय र प्रकृतिका परीषाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिन निर्णय भएको छ,’ मन्त्री ज्ञवालीले भने ।
त्यस्तै शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि लोकसेवा आयोगको अध्यक्षतमा सिफारिस समिति गठन गर्ने निर्णय भएको उनले बताए । उनले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रियालाई निरन्तरता दिने निर्णय भएको बताए ।
अन्य जिल्लाको तुलनामा काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै सतर्कता अपनाउन पनि आग्रह गरे ।
हरेक दिन थपिने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’