काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३ सय ६४ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
कोभिड १९ का सम्बन्धमा जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो ।
मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म कुल ११ लाख ३१ हजार ९ सय ५८ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
बिहीबार मात्र २ हजार ६ सय ७५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म नेपालमा ७१ हजार ३ सय ४३ जनाले कोरोना भाइरस जितेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २ हजार ५ सय ४० जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २ हजार ८५, लिलतपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ, यससँगै मृत्यु हुनेको कुल संख्या ५ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभरि २६ हजार ६ सय ८४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये १४ हजार ९ सय ६७ जना घरमा र ११ हजार ७ सय १७ जना संस्थागत आइसोलेसनमा छन् ।