बिबिसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भर्चुअल बहसमा सहभागी नहुने बताएपछि आउँदो साता र त्यसपछि हुने तेस्रो राष्ट्रपतीय बहस समेत अन्योलमा परेको देखिएको छ ।
उनी र उनका डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडनबीचको निर्धारित बहस इन्टरनेटको माध्यमबाट गरिने बताइएपछि ट्रम्पले आफूलाई त्यो मान्य नहुने जनाएका छन् ।
आयोजकहरूले अक्टोबर १५ तारिखमा हुने बहसमा संलग्न सबैको 'स्वास्थ्य र सुरक्षाको निम्ति' दुवै प्रतिस्पर्धीलाई फरक-फरक स्थानबाट सहभागी गराइने बताएका छन् ।
त्यसबाट आक्रोशित राष्ट्रपति ट्रम्पले फक्स बिजनेश च्यानललाई दिएको फोन अन्तर्वार्तामा समय खेर फाल्न आफू त्यसमा सहभागी नहुने बताए ।
उनले भने, "कम्प्युटरको पछाडि बसेर गरिने भर्चुअल बहस हास्यास्पद हो ।"
जो बाइडनले राष्ट्रपतिमाथि हरेक सेकेन्ड धारणा फेर्ने गरेको आरोप लगाएका छन् । "तपाईँलाई थाहै हुँदैन कि राष्ट्रपतिको मुखबाट कतिबेला के निस्किन्छ भनेर," बाइडनको टिप्पणी छ ।
उनको चुनावी अभियान समूहले ट्रम्पमाथि मतदाताको प्रश्नको सामना गर्न नचाहेको आरोप लगाएको छ ।
जवाफमा ट्रम्पका अभियानकर्ताहरूले आयोजकको निर्णयलाई 'बाइडनको प्रतिरक्षा गर्ने हतारो' भनि टिप्पणी गरेका छन् ।
बरू त्यसको साटो ट्रम्पले चुनावी र्याली आयोजना गर्ने उनीहरूको भनाइ छ ।
उनका चिकित्सकले शनिवार अर्थात् कोभिड १९ बाट सक्रमित पुष्टि भएको १० औँ दिनदेखि उनी काममा फर्किन योग्य रहेको बताइसकेका छन् ।