काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकाहरूको संख्या १ लाखभन्दा बढी पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण हुनेहरूको संख्या १ लाख ६ सय ७६ पुगेको डा. गौतमले जानकारी दिए ।
उनका अनुसार संक्रमित भएकामध्ये ७३ हजार २३ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । शुक्रबार एकै दिनमा १ हजार ६ सय ८० जना संक्रमितहरू कोरोनामुक्त हुँदै डिस्चार्ज भएको डा. गौतमले जानकारी दिएका छन् ।
यससँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमतिको संख्या २७ हजार ५३ रहेको मन्त्रालयको तथ्यांक छ ।
डा. गौतमका अनुसार शुक्रबार १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म कुल ११ लाख ४५ हजार २ सय ७३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा थपिए १,४०९ जना संक्रमित
मन्त्रालयले काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९ जना संक्रमितहरू पुष्टि भएको जनाएको छ ।
शुक्रबार काठमाडौंमा १ हजार १ सय १६ जना, ललितपुरमा १ सय ६३ जना र भक्तपुरमा १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर गरी काठमाडौं उपत्यकामा कुल १४ सय ९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।