काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलने दर झन् बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार हालसम्मको धेरै संक्रमितहरू भेटिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा शनिबार एकैदिन ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
उनका अनुसार सोही अवधिमा १२ सय २९ जनाले कोरोना संक्रमण जितेका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार हालसम्म १ लाख ५ हजार ६ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
शनिबार १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गरिएको उनले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार हालसम्म ११ लाख ६४ हजार ५ सय ५७ जनाको पिसिआर परीक्षण भएको छ ।
त्यस्तै गरी हालसम्म ७४ हजार २ सय ५२ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
हाल मुलुकमा ३० हजार ८ सय १८ जना संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।
त्यसै गरी पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा २६ सय ७२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका काठमाषडौंमा २१ सय, ललितपुरमा ३ सय ६९ तथा भक्तपुरमा २ सय ३ जना संक्रमितहरू भेटिएका छन् ।