दिदी आ’नु !
दिदी आऊ !
आऊ ! झट्टै आऊ !
एकाबिहानै फोन बज्छ
आवाजले झसंग बनाउछ
र बनाउछ मन अमिलो !
माम, माम, माम...
ऊ बिहान ९ नबज्दै
मलाई सम्झाउँछ
उही टेलिफोनमा
आँखाको पानी ओेठमा पुग्यो
ओेहो... कति नुनिलो !
हतारिएर अफिस हानिएकी म
सम्साँझै डेरा फर्कन्छु
फोन गरौँ कि आउँछ ?
एकछिन पर्खन्छु ।
ऊ दुधको गिलास हातमा लिएर
मलाई फोन हान्छ
चिया खाऊ
दिदी आऊ ।
ऊ हातले यसरी बोलाउँछ
मानौँ,
म उसको छेउमा बसेर जिस्काउँदैछु ।
ओहो ऊ दुई वर्षको पुग्दैछ
ठ्याक्कै एक वर्षअघि म घर थिएँ ।
र, ऊ मेरो काखमा सुतेको थियो ।
उसलाई यी हातले नसमातेको
ठ्याक्कै एक वर्ष पुग्दैछ ।
ऊ दुई वर्षको पुग्दैछ
उसले मलाई यसरी बोलाउँछ
उसले मलाई यसरी हेर्छ
र आफ्ना बाललिला देखाउँछ
मेरै अगाडि बसेर ऊ साइकल कुदाउँछ
आँखा झिम्काउँछ, तर्छ
मानौ उसकै काखमा छु झैँ गर्छ
मेरो नाक छुन्छ । कानमा फू गर्छ ।
लच्छु,
सानो आवाजले झिस्काउँछ
आफ्नो नाक छुन्छ
पेन्टो (पेट) देखाउँछ
र भन्छ
दिदी आऊ.... आऊ ......
भित्तामा टाँसिएको छ तस्बिर
म छैन
तर छु उसकै अघिल्तिर
ऊ मोबाइलको हरियो बत्ति
र, मेरो
मुसुक्क हाँसेको फोटो पहिल्याउँछ
र फोन लगाउँछ
ऊ मोबाइलमा यसरी चुप्पा खान्छ
मानौँ मेरो गाला उसको ओठमा छ
मानौँ उसको जिव्रोले मेरो छाला छोएको छ
दशैँ आयो ।
हुन त तीज आयो, औसी आयो, पुर्णिमा आयो
म यो उराठलाग्दो शहरबाट
घरजाने दिन कहिल्यै आएन ।
था छ, वर्षदिनमा आउने
यही दशैँले मलाई घर पुर्याउँछ ।
भर छैन यसपाली ।
घर जानु अघि जाँच्नुछ एकथान पिसिआर
नाप्नुछ खैराँते कोरोनाको पावर
नाथे मलाई लागेको होला र ?
मनै त हो स्वार्थ मात्रै सोच्छ
लागेको भए .....
जान नपाउने पीरले पो घोच्छ ।
मलाई उसको मीठो चुम्बनले कति बोलाएको छ
मलाई उसको मीठो स्वरले कति बोलाएको छ
मलाई एकचोटी घर पुगेर
फर्कन दे’न
ए... कोरोना ।
यो पनि पढ्नुहोस् :
कर्म कविता