काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडा सिचव इन्द्र प्रसाद अधिकारी तथा प्रशासन सहायक रत्न बहादुर बि.क.विरूद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरूविरूद्ध विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरिएको हो ।
प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत बि.क.ले वडा कार्यालयबाट उठाएको राजस्व कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको भन्ने सूचनाका एवं उजुरीका आधारमा अख्तियारको सुर्खेतमा रहेको कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा कार्यालय प्रमुख रहेका वडा सचिव (सहायकस्तर पाँचौं) इन्द्रप्रसाद अधिकारीले पनि 'मद्दत पुर्याएको' देखिएको अख्तियारले जनाएको छ ।
'नगरपालिका वडा नं. ४ को कार्यालयबाट राजस्व रकम रु. २०,२०,०६७।०१ संकलन गरेकोमा बिभिन्न मितिमा रु. ४,१६,६००।–बैंक दखिला गरी रु. १६,०३,४६७।०१ राजस्व रकम बैंकमा दाखिला नगरी राजस्व रकम हिनामिना गरेको देखिएको,' अख्तियारका प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
'वडा सचिव इन्द्र प्रसाद अधिकारी र प्रशासन सहायक रत्न बहादुर बि.क. ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजहरुलाई बिगो रु. १६,०३,४६७।०१ (सोह्र लाख तीन हजार चार सय सतसठ्ठी रुपैंया एक पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा ९१० को खण्ड (च) बमोजिम कैद सजाय हुन र ऐ. ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनका साथै हिनामिना गरेको रास्वमध्ये रु. ७,१६,७१७।०१ हालसम्म पनि दाखिला नगरिएकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम दाखिला नगरिएको बिगो रु. ७,१६,७१७।०१ (सात लाख सोह्र हजार सात सय सत्र रुपैंया एक पैसा) निज आरोपीहरु इन्द्र प्रसाद अधिकारी र रत्न बहादुर बि.क. बाट असुल उपर गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,' अख्तियारका प्रवक्ता अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।