काठमाडौं । कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ । संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन् ।
सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शैय्या, उपकरण र जनशक्ति बिस्तार गर्न नसक्दा समस्या भएको हो । सात महिनाअघि तयार पारिएका कोभिड अस्पतालका संरचना संक्रमित सवा लाख पुग्न लाग्दा पनि उस्तै छन् ।
तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि धरान ९ गौतम पथका ५८ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका थिए । आइसोलेसनमा बसेका ती संक्रमितलाई बुधबार दिउँसो सास फेर्न गाह्रो भयो । परिवारका सदस्यले वडाअध्यक्ष रत्न कटवाललाई सम्पर्क गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा अक्सिजनसहितको बेड मिलाइदिन आग्रह गरे ।
कटवालले अक्सिजनसहितको बेडका लागि निकै पहल गरे तर पाइएन । प्रतिष्ठानबाट अक्सिजनसहितको बेड नभएको जानकारी पाएपछि विजयपुर अस्पतालबाट अक्सिजन सिलिन्डर घरमा ल्याएर दिइएका ती संक्रमितलाई राति सास फेर्न कठिन भएपछि प्रतिष्ठानमा लगियो । प्रतिष्ठानमा पुर्याएको केही समयमै ती संक्रमितको मृत्यु भयो ।
धरान १६ का करिब ६० वर्षीय संक्रमितलाई पनि बुधबार साँझ सास फेर्न गाह्रो भयो । प्रतिष्ठानको कोभिड अस्पतालमा लैजान परिवारजनले निकै कोसिस गरे । तर अस्पतालले बेड खाली नभएको जानकारी गरायो । ती संक्रमितको राति नै घरमा मृत्यु भयो ।
त्यस्तै धरान १५ का ६८ वर्षीय पुरुष ४ दिनअघि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसे । ती संक्रमितलाई पनि बुधबार दिउँसो सास फेर्न गाह्रो भयो । दिउँसो करिब ४ बजेतिर प्रतिष्ठानमा लगियो। त्यहाँ भेन्टिलेटरको त कुरै छाडौं, सामान्य बेडसमेत नपाएपछि ती संक्रमितलाई विराटनगर लगियो ।
ती संक्रमितको बुधबार राति नै कोसी कोडिभ उपचार केन्द्रमा मृत्यु भएको धरान १५ का वडाध्यक्ष नरेश इवारमले बताए ।
धरान ९ का वडाध्यक्ष कटवालले पनि संक्रमितको उपचारका लागि सामान्य बेडसमेत प्रतिष्ठानमा उपलब्ध हुन नसक्नु दुःखद भएको बताए । करोडौं खर्च गरेर लेभल थ्री अस्पताल बनाए पनि अक्सिजनसहितका बेड पर्याप्त व्यवस्था नगरेको भन्दै उनले आक्रोश पोखे ।
संक्रमण तीव्र भएपछि धरान, इटहरीलगायत सहरमा होम आइसोलेसनमा बस्नेको संख्या बढ्दो छ । स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना नपाउँदा घरमै ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ ।
संघीय सरकारले बिपी प्रतिष्ठानलाई सुरुमा लेभल थ्री अस्पताल घोषणा गर्दै सोही अनुसार स्रोत, साधन तयार गर्न बजेटसमेट उपलब्ध गराएको थियो । प्रतिष्ठानले सय बेडको कोभिड अस्पताल बनाए पनि संक्रमित बढ्दै गएपछि त्यो पर्याप्त छैन ।
गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने बेड र उपकरण त्यहाँ छैन । सामान्य बेड पनि पाउन मुस्किल भएपछि संक्रमितले उपचार पाउने अवस्था छैन । अस्पताल पनि भद्रगोल अवस्थामा छ ।
अस्पताल सञ्चालन भएको ३ महिनामै नयाँ जडान गरिएका भेन्टिलेटर बिग्रिएका छन् । एक्स रे र एबिजी मेसिन पनि बिग्रिएको अस्पताल स्रोतले जनाएको छ। कोभिड अस्पतालका १० वटा भेन्टिलेटरमा ४ वटा मात्र सञ्चालनमा छन् । सय बेडको कोभिड अस्पतालमा भेन्टिलेटरबाहेक संक्रमितलाई पाइपबाट सीधै अक्सिजन दिने बेड जम्मा ९ वटा मात्र छन् ।
यो समाचार आजको नागरिक दैनिकमा रोहित राई र रेखा भुसालले लेखेका छन् ।