काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा हुने आपराधिक कृयाकलाप रोक्न प्रहरीले कुनै पनि प्रकारको दबाव र प्रभावमा पर्न नहुने बताएका छन् ।
नेपाल प्रहरीको ६५ औँ स्थापना दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले समाजमा अराजकता तथा वितण्डा मच्चाउन खोज्ने तत्वप्रति चनाखो भई कडा कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरीको सकृयता आवश्यक रहेको उल्लेख गरे ।
बलात्कार र हिंसा जस्ता जघन्य अपराध समाजका लागि क्षम्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले कानून ल्याएको बताए ।
प्रधानमन्त्री ओलीले सीमित स्रोत साधनबीच पनि नेपाल प्रहरीले अपराध अनुसन्धान तथा शान्ति सुरक्षा अमनचयन कायम राख्न निर्वाह गर्दै आएको जिम्मेवारी प्रशंसनीय रहेको समेत बताए ।
केही दिन पहिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुढिगण्डकी आयोजनामा शीर्ष नेताले अरबौ भ्रष्टाचार गरेको भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई गैरजिम्मेवार र जनमानसमा भ्रम छर्ने अभिव्यक्ति भएको बताए ।
'आयोजना निर्माणका विषयमा कुनै निर्णय नै नभइसकेको अवस्थामा यति अर्ब उति अर्ब बाँडेर खाए भन्नु गैरजिम्मेवार अभिब्यक्ति हो,' उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको रणनीति अख्तियार गरी राज्यका सबै निकायलाई पारदर्शी र जिम्मेवार बनाइएको दावी गरे ।
‘देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने कुचेष्टा, हर्कत हामी गर्दैनौँ,' उनले भने, 'हामी सत्य, निष्ठा र जिम्मेवारी भावका साथ मात्रै अगाडि बढ्न सक्छौ ।’