एजेन्सी । विश्वका सबैभन्दा बढी दीर्घायु कुन देशका नागरिकहरु छन् ? यो प्रश्न कसैले तपाईंसँग सोध्यो भने तपाईंको मनमा सहज रुपमा जबाफ आउँछ जापान ।
हुन पनि विश्वको सबैभन्दा बढी उमेरको मानिसमा जापानी नागरिकहरुले पटक पटक स्थान पाउँदै आएका छन् । यसले उनीहरुको दीर्घायुलाई दर्साउँछ ।
आखिर त्यस्तो के कारण छ जसले गर्दा जापानीहरु दीर्घायु रहन्छन् ?
जापानीहरुको दीर्घायुमा उनीहरुको जीवनशैलीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । जापानीहरुको दीर्घायुका विभिन्न कारणहरुमध्ये केही महत्वपूर्ण कारणहरु विभिन्न एजेन्सी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार निम्नबमोजीम प्रस्तुत गर्न सकिन्छ ।
खानपान
भनिन्छ मानिसले जस्तो खान्छ उस्तै बन्छ । यसको अर्थ हो मानिसको जीवन तथा उसको आयुमा खानपानको ठूलो प्रभाव पर्दछ ।
जापानीहरुको दीर्घायुमा पनि खानपानको अहम् भूमिका छ । जापानीहरु दीर्घायु हुनुका कारण उनीहरुले खानपानमा दिने ध्यान पनि एक हो ।
जापानीहरु ताजा खाना खान मन पराउँछन् । उनीहरु ताजा खाना खाने गर्दछन् । ताजा तरकारी तथा ताजा माछा जापानीहरुलाई मन पर्छ र त्यस्तै खान्छन् । जसले उनीहरुको दीर्घायु हुनुमा बल पुर्याएको छ ।
त्यस्तै जापानीहरु कम खान्छन्, एकैचोटी धेरै खाँदैनन् । चिया र सुप धेरै खानु जापानीहरुको अर्को विशेषता हो । औसत भन्दा बढी जापानीहरु दूधबिनाको चिया खान्छन् ।
व्यायाम
जापानीहरु नियमित रुपमा शारीरिक व्यायाम गर्ने गर्दछन् । जसरी नेपाल भारत लगायतका देशमा योग गर्ने गरिन्छ त्यस्तै जापानमा पनि एक प्रकारको शारीरिक व्यायाम गर्ने गरिन्छ ।
जापानमा खासगरी साजियो ताइसो व्यायाम प्रचलित छ । जापानीहरु विहान सबेरै उठेर यो व्यायाम गर्ने गर्दछन् । त्यस्तै जापानीहरु लामो समय कुर्सीमा बसेर काम गर्दैनन् ।
जापानले प्रविधिको मामिलामा विश्वमै उल्लेख्य सफलता हात पारेको छ । तर जापानीहरु आफ्नो काम आँफै गर्न मन पराउँछन् । उनीहरु आफूले गर्नसक्ने कामका लागि मेसिनको भर पर्दैनन् ।
त्यस्तै जापानीहरु पैदल यात्रा गरिरहेका भेटिन्छन् । अर्कातर्फ लक्जरी गाडीमा यात्रा नगरी जापानीहरु सार्वजनिक सवारीको प्रयोग गर्छन् । जसले उनीहरुको तन्दुरुस्तीलाई बल पुर्याएको छ ।
हेल्थ केयर
जापानीहरुको स्वास्थ्य जीवनमा स्वास्थ्यप्रतिको उनीहरुको सचेतना पनि महत्वपूर्ण रहेको छ । स्वास्थ्यप्रतिको सचेतनाले जापानीहरुको औसत आयु बढाउने गरेको छ ।
जापानमा अनिवार्य स्वास्थ्य जाँच (हेल्थ केयर)को व्यवस्था गरिएको छ । जसका कारण जापानीहरु वर्षमा १०–१२ पटकभन्दा धेरै स्वास्थ्य जाँचका लागि चिकित्सककोमा जाने गर्दछन् । जापानीहरुको स्वास्थ्यप्रतिको यो सचेतताले पनि उनीहरुको दीर्घायुलाई बल पुर्याइरहेको छ ।
यी विविध कारणले जापानीहरु स्वस्थ रहन्छन् । मूलतः जापानीहरुको जीवनशैली तथा खानपान स्वस्थकर हुने गर्दछ । त्यस्तै स्वास्थ्यप्रतिको उनीहरुको सचेतताले पनि उनीहरुको दीर्घायु रहने गरेको छ ।