काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
शुक्रबार सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले बनाएको कोरोना अनुगमन समितिको प्रतिवेदन बुझ्दै गरिब जनतालाई निःशुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको आरोप लगाए ।
त्यस्तै उनले कोरोना नियन्त्रणका लागि खरिद गरिएको सामग्रीदेखि दाताले दिएको सहयोगमा पनि सरकारले भ्रष्टाचार गरेको उनको आरोप छ ।
सभापति देउवाले पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको बताए । अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको उनको आरोप छ।
सरकारले आवश्यकताअनुसार तत्काल भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार नगरे आन्दोलन गर्ने चेतावनी दिए । उनले कोरोना रोकथाम तथा नियन्त्रणमा जति खर्च भए पनि कांग्रेसले निशर्त सहयोग गर्ने बताए पनि सरकारले जनताका पक्षमा काम नगरेको बताए ।
जनताका पक्षमा सरकारले काम नगरे संसद बैठक डाक्न पनि पार्टीले माग गर्ने बताए । उनले दशैंलगत्तै संसद बैठक बोलाएर सरकारलाई जनताका पक्षमा काम गर्न बाध्य बनाइछाड्ने र ठूलो आन्दोलन गर्ने चेतावनी दिए ।
कोरोना अनुगमन समितिका संयोजकत्व तथा सहमहामन्त्री प्रकाशशरण महतले कोभिड-१९ अनुगमन समितिको प्रतिवेदन सभापतिलाई हस्तान्तरण गर्दै सरकारको प्रोपागाण्डा शैलीमा प्रस्तुत भएर जनतालाई गलत सूचना प्रवाह गरेको आरोप लगाए ।