काठमाडौं । मुलुकमा कोरोना भाइरस (कोभिड- १९) का कारण भयावह अवस्था सिर्जना भएको छ । त्यसका कारण लगाइएको लकडाउनका कारण धरैको रोजीरोटी खोसिएको छ ।
यसको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रमा पनि परेको छ । यो समग्र परिस्थितिका कारण धेरैको दशैं कोरोनाको सम्भावित संक्रमणका कारण त खल्लो बनेको छ नै साथसाथै आर्थिक कारणले पनि धेरैलाई दशैंले उत्सहित बनाउन सकेको छैन ।
यस किसिमको विसम परिस्थितिमा सांसदहरूले भत्ता बुझेको समाचार सार्वजनिक भयो । जसका कारण उनीहरूको ठूलो आलोचना भयो ।
सम्भवतः आलोचना बढ्दै गएपछि केही नेताहरूले आफूले भत्ता नलिने बताउँन थालेका छन् । नेकपाका स्थायी समिति सदस्यद्वय भीम रावल र जनर्दन शर्माले यस्तै धारणा सार्वजनिक गरेका छन् ।
यसबारेमा टिप्पणी गर्दै जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गर्नसमेत माग गरेका छन् । उनले आफू सांसदहरूले दशैंभत्ता लिनुहुन्न भन्ने पक्षमा रहेको पनि स्पष्ट पारेका छन् ।
भीम रावल लेख्छन्:
खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ ।मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।
त्यस्तै जनार्दन शर्माले पनि सांसदहरूलाई दशैं भत्ता दिनुभन्दा पनि भेन्टिलेटर किन्न उनको प्रस्ताव छ । उनले आफूले पाएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहराको उपचारमा हस्तान्तरण गर्ने शर्माले उल्लेख गरेका छन् ।
जनार्दन शर्मा लेख्छन्:
कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।
अर्कातर्फ सुरूमा दशैंभत्ताका सम्बन्धमा कुनै प्रतिक्रिया नदेखाएको तर, सामाजिक सञ्जालहरूमा आलोचना हुन थालेपछि नेताहरूले यससम्बन्धमा पछिल्लो प्रतिक्रिया दिएको टिप्पणीहरू पनि भएका छन् ।