काठमाडौं । सांसदहरूले दशैंको भत्ता लिएको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालहरूमा त्यसको व्यापक आलोचना भयो । यससँगै केही सांसदहरूले कसैले फिर्ता गर्ने त कसैले अन्य कुनै सामाजिक कार्यमा खर्च गर्ने बताए ।
सामाजिक सञ्जालहरूमा पोखिएको यो असन्तुष्टिको मूल भाव हाम्रा जनप्रतिनिधिले यस्तो महामारीको बीचमा पनि कसरी दशैंभत्ता लिन सक्छन् भन्नेमा मात्र सीमित छैन उनीहरू कसरी यति गैरजिम्मेवार भए भन्नेमा पनि केन्द्रित छ ।
तर, केहीले यस्तो भत्ता नलिने, केहीले फिर्ता गर्ने त केहीले अर्को लोककल्याणकारी कार्यमा खर्च गर्ने बताएका छन् । सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले त पछिल्ला केही महिनादेखि तलबसमेत नलिएको समाचार सार्वजनिक भएको छ ।
त्यस्तै नेकपाका स्थायी समिती सदस्य भीम रावलले आफ्नो भत्ता फिर्ता गर्न अनुरोध नै गरेका छन् । रावलले अहिलेको अवस्थामा कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गर्न माग नै गरेका छन् ।
नेकपाकै अर्का स्थायी समिति सदस्य जनर्दन शर्माले सांसदहरूलाई दशैं भत्ता लिनुभन्दा पनि भेन्टिलेटर किन्न प्रस्ताव गरेका छन् । शर्माले आफूले पाएको भत्ता कालिकोटका पूर्वजनमुक्ति सेनाका नरेन्द्र बोहोराको उपचारमा खर्च गर्ने जानकारी दिएका छन् ।
भीम रावल लेख्छन्:
खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।
जनार्दन शर्मा लेख्छन्:
कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।
अर्कातर्फ सुरूमा दशैंभत्ताका सम्बन्धमा कुनै प्रतिक्रिया नदेखाएको तर, सामाजिक सञ्जालहरूमा आलोचना हुन थालेपछि नेताहरूले यससम्बन्धमा पछिल्लो प्रतिक्रिया दिएको टिप्पणीहरू पनि भएका छन् ।
धेरैको प्रश्न छ हाम्रा आशा गरिएका जनप्रतिनिधिहरू यस्ता लोकप्रियतासँग सम्बन्ध राख्ने कुराहरूमा किन रक्षात्मक हुन्छन् ? उनीहरूले किन सुरूमै दशैंमा जनप्रतिनिधिलाई भत्ता नदिने व्यवस्थाका लागि देखिने गरी लबिङ गरेनन् ? र किन त्यससम्बन्धी समाचार सार्वजनिक भइ आलोचना सुरू भएपछि मात्र त्यसप्रति प्रतिक्रिया जनाए ?
सांसदहरूको तलब भत्ता (खासगरी भत्ता)मा टिप्पणी प्रतिटिप्पणी हुनथालेपछि राप्रपाका सांसद राजेन्द्र लिङ्देनले भने यसबारेमा अली फरक धारणा सार्वजनिक गरेका छन् ।
उनले ट्विट् गर्दै प्रश्न गरेका छन्- केवल लोकप्रियताका लागि तलब भत्ता पनि लिन्न कुनै व्यवसाय पनि छैन भन्ने जनप्रतिनिधिहरूले आफ्नो दैनिकी कसरी चलाइरहेका छन् ?
लिङ्देन लेख्छन्:
केवल लोकप्रियताका लागि तलव भत्ता पनि लिन्न,
कुनै व्यवसाय पनि छैन भन्ने जनप्रतिनिधिहरुले आफ्नो दैनिकी कसरी चलाईरहेका छन ?
छानवीन गर्नेकी ?
- म चाँहि नक्कलि कुरा गर्दिन, तलव भत्ता लिन्छु तर भ्रष्टाचार गर्दिन ।
- यो आर्थिक संकटका बेला दशैं पेश्की नदिएको भएपनि हुन्थ्यो ।