काठमाडौं । नवलपरासीका एक बाबुले छोराको चौरासी पूजा गराइदिएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुवाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य बिरलै देख्न पाइन्छ ।
सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको शुक्रबार चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।
बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीय अचम्मित भइ पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए । चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीय राजकुमार श्रेष्ठले बताए ।
पिता ज्ञवाली अहिले पनि स्वस्थ्य छन् । खेतीपातीमै जीवन बिताएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उनका साहिँला छोरा हरिप्रसादले बताए । केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डाक्टर बाबुराम हुन् ।
छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ्य, सुखी र खान पुगोस् भनी आशीर्वाद दिएका थिए । आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुसी लागेको छोरा दधिरामले बताए ।
विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका ज्ञवालीका चार छोरा अहिले पनि छन् । उनको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ ।
उनका खनाति शिवम् दुई वर्ष पूरा भएका छन्, जो २०७६ साउनमा जन्मेका हुन् । साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर ठिक १०० वर्षले फरक छ ।