काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इङ्गल्यान्डमा एनएचएसका लागि 'मेडिकल र नैतिक विपत्' रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेका छन् ।
उनले क्रिसमस 'निकै फरक' हुनसक्ने तर अहिले उठाइएको कदमका कारण उक्त चाडका अवसरमा परिवारहरूका सदस्यहरूबीच भेट हुन सक्ने आशा प्रकट गरे ।
पबहरू, रेष्टुरेन्ट, जीम र अति आवश्यक सेवामा नपर्ने पसल सबै चार हप्ताका लागि बन्द गरिने उनले बताए । तर यस अघिको लकडाउनमा बन्द गरिएका स्कूल, कलेज र विश्वविद्यालय यस पटक खुला रहन सक्नेछन् ।
डिसेम्बर २ देखि प्रतिबन्ध खुकुलो गरिने भएपनि ठाउँ ठाउँमा प्रतिबन्ध भने लागिरहन सक्छ । प्रधानमन्त्री जोन्सनले भने, "यो वर्षको क्रिसमस असाध्यै फरक हुनेछ । तर अहिलेको कडा कदमपछि क्रिसमसका बेला परिवारका सदस्यहरूले भेटघाट गर्न सक्ने स्थिति आउन सक्छ ।"
प्रधानमन्त्रीले डाउनिङ स्ट्रीटमा प्रेस सम्मेलनमा लकडाउनले व्यवसायमा पर्ने असरका लागि 'साँच्चिकै दुखी' भएको भन्दै कामदारहरूलाई सरकारले काम नगरेपनि ८० प्रतिशत तलब दिने फरलो प्रणाली नोभेम्बरसम्म जारी हुने बताए ।
एप्रिलमा भन्दा नराम्रो सङ्क्रमण दर र मृत्यु दरका कारण 'कुनै पनि जिम्मेवार प्रधानमन्त्रीले' त्यसलाई नजरअन्दार गर्न नसक्ने प्रधानमन्त्री जोन्सनको भनाइ छ ।
अहिले सङ्क्रमण तुलनात्मक रूपमा कम रहेको इङ्गल्यान्डको दक्षिण पश्चिमी क्षेत्रका अस्पताल समेत केही दिनमा बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुग्ने जोन्सनले बताए ।
जोन्सनले भने, "डाक्टर र नर्सले कसको उपचार गर्ने, कसको नगर्ने, कसलाई अक्सिजन दिने, कसलाई नदिने र को बाँच्ने, को मर्ने भन्ने निर्णय गर्न बाध्य हुनेछन् ।"
नयाँ प्रतिबन्धहरू के के छन्
मानिसहरूलाई विशेष कारण नभै घर बाहिर ननिस्कन भनिएको छ
बिरामी परेमा घर बाहिर निस्कन पाइनेछ। त्यस्तै खाद्यान्न र अन्य अत्यावश्यक बस्तु किनमेल गर्न र जोखिममा रहेका मानिसलाई सहयोग गर्न वा स्वयम्सेवा गर्न पनि घर बाहिर निस्कन पाइनेछ
घरबाहिर वा निजी बगैचामा पनि समूहमा भेटघाट गर्न प्रतिबन्ध छ तर सार्वजनिक स्थानमा एक अर्कालाई भेट्न पाइनेछ । पब, बार, रेस्टुरेन्ट र अत्यावश्यकमा नपर्ने खुद्रा पसल सबै बन्द रहनेछन् तर टेकअवे जस्ता पसल खोल्न पाइनेछ ।
जीमहरू लगायत मनोरन्जनस्थलहरू बन्द रहनेछन् । निर्माणस्थल र उद्योगहरू खुला रहन सक्नेछन् ।
यदि छुट्टिएर बसेका बाबुआमा छन् भने छोराछोरी बाबु वा आमाकहाँ जान पाउनेछन् । जोखिममा रहेका मानिसहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ ।
बिबिसी