काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउदैछन् । उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमनत्रणामा तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
नेपाल-भारतबीच पछिल्लो समय बढेको भनिएको तिक्तताका बीच भारतीय स्थलसेनाध्यक्षको हुन लागेको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । खासगरी सैन्य कूटनीतिका कोँणबाट नरवाणेको यो भ्रमणलाई विश्लेषण गरिएको छ ।
नरवाणेको नेपाल आगमनको पहिलो दिन औपचारिक कार्यक्रम तय भएको छैन । भ्रमणको दोस्रो दिन उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।
त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन् । सेनाका पिएसओज र रथीवृन्दसँग भेटघाट र छलफलको कार्यक्रम तय भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको दोस्रो दिन जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ ।
सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
सोही दिन भारतीय सेनाध्यक्षको सम्मानमा जङ्गी अड्डामा रात्री भोज आयोजना हुनेछ । भ्रमणको तेस्रो दिन उनी शिवपुरीस्थित आर्मी कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजना हुने शिक्षार्थीसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।
रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरावणेले सोही दिन औपचारिक भेटवार्ता गर्नेछन् । नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ ।