काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेपछि एकता संकटमा परेको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका पुष्पकमल दाहाललाई सल्लाहमै अलग हुने प्रस्ताव गरेपछि पार्टी एकता संकटमा परेको हो ।
दुई अध्यक्षबीच भएको शनिबारको छलफलमा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको निर्णयले आफूलाई सरकार सञ्चालन र दाहाललाई पार्टी सञ्चालनको जिम्मेवारी दिएको उल्लेख गर्दै भने, ‘सरकार सञ्चालन गर्न मलाई कस्ता मानिस आवश्यक पर्छ त्यो मैले जान्ने कुरा भयो । तपाईं जता पनि भागवण्डा खोज्नु हुन्छ यस्तै हो भने अब अलग अलग नै बसौं ।’
स्थायी कमिटीको निर्णयविपरीत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूखुसी गरेको भन्दै नेकपा शीर्ष नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका थिए । कात्तिक ३ देखि दुई अध्यक्षबीच भेटघाट नभएको र संवाद पनि नभएको अवस्थामा शनिवार दुई अध्यक्षबीच भेटघाट हुँदा प्रधानमन्त्री ओलीले भागवण्डा खोजेको भन्दै पार्टीबाट अलग हुँदा नै राम्रो हुने धम्की दिएका थिए ।
‘मुलुकमा संकट छ, म सरकारको काममा केन्द्रित हुनपर्ने मान्छे तपाईलाई मनाउन लाग्दा लाग्दै समय बित्यो, सधैं तपाईंको कुण्ठा सुन्दासुन्दै सरकारको काम समेत प्रभावित बनेको छ, तपाईं सरकारलाई असहयोग गर्नु हुन्छ, असन्तुष्टि मात्रै पोख्नु हुन्छ, पार्टीमा मैले तपाई दिनुपर्ने भन्दा बढी नै स्पेश दिएको छु सरकारमा पनि राम्रै स्थान दिएको छु यस्तो अवस्थामा तपाईलाई मात्रै मिलाउने काम हुन थाल्यो सरकारको काम नै तपाईंलाई मिलाउने, तपाईंका कुण्ठा सुन्ने मात्रै हुन थाल्यो यस्तो सधैं भैरहे बरु सल्लाहमै अलग अलग बसौ आफ्नो आफ्नो तरीकाले काम हुन्छ’, ओलीलाई उद्यृत गर्दै स्रोतले भन्यो ।
कार्यकारी अध्यक्ष दाहालले पनि आइतबार दिउँसो शीर्ष नेताहरुलाई ओलीले पार्टीबाट अलग हुनुस् भनेको भन्दै ब्रिफ्रिङ गरेका थिए । दाहालले ओलीसँग भएको भेटघाटबारे शीर्ष नेताहरुलाई खुमलटारमा बोलाएरै आइतबार उक्त बैठकबारे जानकारी गराएका थिए ।
‘ओलीजी अब सँगै बस्न सकिंदैन अलग अलग बसौं भन्नुभयो, मैले पार्टीको सचिवालय बैठक बसौ समस्याबारे त्यही छलफल गरौं भनेको थिँए उहाँले अब सधैं सँगै बस्ने अवस्था देखिएन भन्नुभयो’, खुमलटार निकट स्रोतले भन्यो ।
भदौ २६ को स्थायी कमिटी बैठकपछि राजदूत नियुक्ति, मन्त्रीहरूको जिम्मेवारी हेरफेर र नियुक्ति तथा र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावसम्म आइपुग्दा नेकपामा एकता प्रकृया संकटमा परेको छ ।
पाँच महिनासम्म चलेको नेकपाको आन्तरिक द्वन्दपछि भदौ २६ को स्थायी कमिटीको बैठकले ओलीलाई सरकार र दाहाललाई पार्टी काममा लाग्न निर्देशन दिंदै सकिएको थियो । तर दुई महिनापनि नपुग्दै दुवै अध्यक्ष अलग अलग हुने अवस्थामा आइपुगेका छन् ।
नेकपा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ भने पार्टी अलग हुने विषयलाई भन्दा पनि एकता प्रकृयालाई बलियो बनाएर जानुपर्ने पक्षमा रहेका छन् ।
उनीहरुले खुमलटारको भेलामा पार्टीको बैठक बोलाउनुपर्छ बैठकमै सबै कुरा राख्नुपर्छ पार्टी अलग हुने हल्ला चलाउने र सरकार वा पार्टी दुवैलाई कमजोर बनाउने प्रयास कसैबाट पनि हुनुहुँदैन भन्ने धारणा राखेको स्रोतको दावी छ ।
सचिवालय सदस्य रामबहादुर थापाले यसरी अलग अलग भेला गरेर पार्टी फुटाउने कुरा गर्नु उपयुक्त हुँदैन भन्ने धारणा राखेका थिए । ‘पार्टीका विभिन्न कमिटीहरु छन् । सचिवालय बैठक बसौं त्यहाँ छलफल गरौ, स्थायी कमिटीको बैठक बसौं त्यहाँ छलफल गरौं त्यहाँ पनि कुरा नमिले केन्द्रीय कमिटीमा लैजाऔं त्यहींबाट छिनोफानो गरौं’, थापालाई उद्यृत गर्दै स्रोतले भन्यो ।
राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली सरकारको विषयमा प्रधानमन्त्रीको हस्तक्षेप, पर्सामा नेकपा कार्यकर्ताको झडपपछि मृत्यु र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको भेटवार्ता जस्ता विषयमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको पार्टीका नेताहरुको आरोप रहेका बेला शनिबार दुई अध्यक्षको भेटघाट भएको थियो ।
त्यसबेला दुवै अध्यक्षले आफ्ना धारणा राख्नेक्रममा पार्टी विभाजनको समेत छलफल भएको थियो ।
यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।