काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले देश संविधान अनुसार नभइ व्यक्तिको इच्छा अनुसार चलाउन खोजिएको आरोप लगाएका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री यादवले यस्तो आरोप लगाएका हुन् । उनले सरकारको निर्णय सच्याउन पनि माग गरेका छन् ।
मन्त्रिपरिषद बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय गर्नु र कानुन मन्त्रालयबाट गत असोज २८ गते “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”को स्थानमा “नेपाल” मात्र लेख्नु भनेर मातहतका निकायहरूमा पत्राचार गरिएको भन्दै पूर्वमन्त्री यादवले त्यसको विरोध गरेका छन् ।
उनले विज्ञप्तिमा देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छ्या अनुसार चलाउन खोजिएको टिप्पणी पनि गरेका छन् ।
सरकारको उक्त कदमलाई संविधानविरोधी भन्दै उनले विज्ञप्तिमा भनेका छन्, 'यसको भर्त्सना गर्दै महान् शाहिदहरूको सपना, क्रान्तिकारी पार्टीहरूको प्रतिवद्धता र उत्पीडित वर्ग तथा जनसमुदायको चाहना अनुसार स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा उभिन सवै परिवतनकारीहरूसंग हार्दिक अपिल गर्दै यस्ता असंवैधानिक निर्णय तुरुन्त सच्याउन सरकारसंग माग गर्दछु ।'
विज्ञप्तिमा के भनिएको छ ?
प्रेस विज्ञप्ति (२०७७/०७/१९)
२०७७ साल असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय गर्नु र कानुन मन्त्रालयबाट गत असोज २८ गते “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”को स्थानमा “नेपाल” मात्र लेख्नु भनेर मातहतका निकायहरूमा पत्राचार गर्नु देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छ्या अनुसार चलाउन खोज्नु महान् जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनका साथै हजारौं महान् शाहिदहरूको अपमान र संघीयता विरोधि कदम भएकोले यसको भर्त्सना गर्दै महान् शाहिदहरूको सपना, क्रान्तिकारी पार्टीहरूको प्रतिवद्धता र उत्पीडित वर्ग तथा जनसमुदायको चाहना अनुसार स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा उभिन सवै परिवतनकारीहरूसंग हार्दिक अपिल गर्दै यस्ता असंवैधानिक निर्णय तुरुन्त सच्याउन सरकारसंग माग गर्दछु ।