काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले राजीनामा दिए देश बर्बादीतिर जाने जिकिर गरे ।
‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्री राजीनामा दिन पस्यो, तर तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ?,' ओलीले भने, 'अहिले राजीनामा दिनु भनेको बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’
आफू व्यापक जनसमर्थनबाट यो ठाउँमा पुगेको भन्दै उनले यो अवस्थामा राजीनामा नदिने प्रष्ट्याउँदै ढुक्क भएर काम गर्न पनि आग्रह गरे । ‘मैले अहिले राजीनामा दिन मिल्छ ? व्यापक जनसमर्थनबाट हो यो ठाउँमा आएको हो,' उनको तर्क थियो, 'ढुक्क भएर काममा लाग्नुस्, सरकार फेरिन्छ बदलिन्छ कि भन्ने होइन । केही हुनेवाला छैन ।’
सरकार परिवर्तन गर्नका लागि धेरै कोसिसहरु भईरहेको दावी गर्दै उनले त्यसलाई सफल हुन नदिने बताए ।
‘यो सरकार यस्तो हुन्छ कि उस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि भन्ने छ, धेरैले धेरै पटक धेरै प्रकारका कोशिसहरु गरे । भित्र बाहिर अनेक थरीका कोशिशहरु आए,’ उनले भने, ‘एकथरीको यो अस्थिरताको खेती गरिरहने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदात छ । एडिक भएका छन् कोही यस्तो एडिकसनलाई म के भनौं । तर, देशमा स्थिरताका लागि हामी काम गर्छौं ।’