काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवाद तत्कालै समाधान हुने लक्षण देखिएको छैन ।
पार्टी विभाजनसम्मको आँकलन गरिएको विवाद बढ्दै जाँदा अध्यक्षद्वयबीच बिहीबार भएको भेटलाई महत्वका साथ हेरिएको थियो । तर, उक्त छलफलमा अध्यक्षद्वयबीच सहमति हुन सकेन ।
विवाद बढ्दै जाँदा नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । यो भेटले नेकपा विवाद सहमतिउन्मुख हुन्छ भन्ने अपेक्षा पनि थियो तर, विश्वासको संकट अझ गहिरिएको देखिएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अहिले राजीनामा दिन नमिल्ने र दिँदा पनि नदिने बताएका थिए । उनले आफूले राजीनामा दिए देश बर्बादीतिर जाने टिप्पणी पनि गरेका थिए ।
बिहीबारको भेटमा प्रचण्डले ओलीले बुधबार राजीनामा मागिएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ती जनाएको स्रोतले जनाएको छ ।
त्यस्तै प्रदेश १ मा गुटको बैठकमा जनताको बहुदलीय जनवाद (जबज) लाई अघि बढाउन दिएको निर्देशनप्रति पनि असहमति प्रकट गर्दै प्रश्न गरेका बताइएको छ ।
ओली सँगको भेटमा प्रचण्डले यस्ता विषयवस्तुमा पार्टीको कमिटीहरूमा छलफल हुनुपर्नेमा जोड दिएका थिए । यद्यपी ओली त्यसमा सहमत हुन नसकेको बताइएको छ । यसले नेकपामा पुनः सहमति भएर पछिल्लो समय उत्पन्न विवाद समाधान हुन्छ कि भन्ने आशा गरेकाहरू निराश हुँदै गएका छन् ।
मन्त्रिमण्डल पुनर्गठन, राजदूतहरुको नियुक्ती लगायतका विषयहरुमा सरकाले गरेको निर्णयप्रति प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल पक्ष असन्तुष्ट छ । त्यस्तै रअका प्रमुखसँग प्रधानमन्त्री ओलीले भेट गरेपछि नेकपा विवाद थप उत्कर्षमा पुगेको छ ।