काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले ६ सय बढी स्थानीय तहमा फोरजीको पहुँच विस्तार गरेको जनाएको छ ।
गत वर्ष असोज १५ मा नेपाल टेलिकमले ६० वटा सहरमा फोरजी सेवा विस्तार गरेपछि प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्दै सेवा सुरुवातको घोषणा गरेका थिए ।
अहिले टेलिकमले २० लाख सक्रिय प्रयोगकर्तासहित देशभर फोरजी विस्तारको कामलाई द्रुत गतिमा अघि बढाएको जनाएको छ । टेलिकमले ७७ ओटै जिल्लामा आफ्नो फारजी नेटवर्कको पहुँच केही महिनाअघि नै पुर्याइसकेको घोषणा गरेको थियो ।
टेलिकमका प्रवक्ता राजेश जोशीले २८ सय भन्दा बढी स्थानमा झन्डै ४५ सय ओटा फोरजी टावर विस्तार भइसकेको बताए । उनका अनुसार, कोरोना भाइरस महामारीका कारण फोरजी प्रोजेक्टको काम ठप्प भएको कारण फोरजी विस्तारमा केही ढिलाई भएको हो ।
‘पछिल्लो अक्टोबरदेखि ‘स्पीड’ ले काम भइरहेको छ’ उनले भने, ‘लकडाउन र निषेधाज्ञाले काम ठप्प हुँदा प्रगति देखिएको थिएन ।’
टेलिकमका अनुसार अहिले मासिक महिनामा दुई सयभन्दा बढी टावर स्थापना र जडान हुँदै आएका छन् । महामारीका कारण प्रोजेक्टमा जनशक्ति र व्यवस्थापनमा पनि समस्या भएको प्रवक्ता जोशीको भनाई छ ।
हालसम्म ६ सय भन्दा बढी स्थानीय तहमा फोरजीको पहुँच पुर्याइसकेको टेलिकमले केही महिना भित्रै सबै स्थानीय तहमा फोरजी विस्तार गरिसक्ने जनाएको छ ।
पछिल्लो ३र४ दिनमा एकचोटी फोरजी नेटर्वकमा कनेक्ट भएको र क्षणिक रुपमा फोरजी नेटवर्कको पहुँचमा भएका प्रयोगकर्ता समेतलाई समेत जोड्ने हो भने २८ लाख भन्दा बढी प्रयोगकर्ता पुग्ने गरेको टेलिकमले जनाएको छ ।
टेलिकमले एक वर्षभित्र सबै जिल्लामा फोरजी सेवा पुर्याउने गरी २०७५ माघमा सम्झौता गरेको थियो । हाल टेलिकममको थ्रीजी प्रयोगकर्ता ८६ लाख ६६ हजार छन । त्यसैगरी, एनसेलका फोरजी ग्राहक ३७ लाख ६२ हजार छन भने थ्रीजी ग्राहक २८ लाख ८४ हजार छन ।
टेलिकमको फोरजी विस्तारको कुल लागत १८ अर्ब ७१ करोड रुपैयाँ छ । हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सीसीएसआई) ले रेडियो एक्सेस नेटवर्क (र्यान) एवं जेडटीईले कोर नेटवर्क विस्तारको काम पाएका छन ।
टेलिकमका टावरबीच सम्पर्क स्थापित गराउने काम कोर नेटवर्कले गर्छ ।